Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिकाले फोहोरमैला व्यवस्थापनको ज्ञान अब पाठ्यपुस्तकमार्फत दिने भएको छ । धनगढी उपमहानगरपालिका ले काठमाडौँ विश्वविद्यालय को प्राविधिक सहयोगमा फोहोर व्यवस्थापनसम्बन्धी पुस्तक तयार पारेको हो ।
उक्त पुस्तकलाई व्यावसायिक तालिम परिषद् (सिटीइभिटी) को स्वीकृतिमा अध्ययन–अध्यापन गरिने भएको छ। फोहोर व्यवस्थापन, वर्गीकरण, पुनःप्रयोग र रोजगारी सिर्जनालाई मुख्य उद्देश्य बनाएर तयार गरिएको पुस्तकमार्फत तालिम सञ्चालन सुरु गरिएको छ ।
धनगढी उपमहानगरपालिकाले नेपालमै पहिलो पटक फोहोर व्यवस्थापनलाई औपचारिक पाठ्यक्रममा समेट्ने अभ्यास थालेको जनाएको छ । हालसम्म नेपालमा यस विषयमा व्यवस्थित रूपमा किताबमार्फत अध्ययन–अध्यापनको अभ्यास न्यून रहेको अवस्थामा यो पहललाई नवीन मानिएको छ ।
नगर उपप्रमुख कन्दकला कुमारी रानाले यस कार्यक्रमले फोहोर व्यवस्थापनप्रति जनचासो बढाउने र सहरी सरसफाइमा सुधार ल्याउने विश्वास व्यक्त गरिन् । यस्तै, टीकापुर पोलिटेक्निक इन्स्टिच्युटका प्रमुख इन्जिनियर पारश खड्काका अनुसार पाँच वटा स्पष्ट उद्देश्यसहित तयार गरिएको पुस्तकले फोहोर व्यवस्थापन क्षेत्रमा काम गर्ने जनशक्तिलाई सीपयुक्त बनाउनेछ ।
उपमहानगरपालिकाले हाल सहरी क्षेत्रमा फोहोरको सूक्ष्म वर्गीकरण, बिक्री तथा व्यवस्थापन गर्दै आएको छ। साथै, क्षेत्रीय सहरी विकास परियोजनाअन्तर्गत अत्याधुनिक फोहोर व्यवस्थापन केन्द्र निर्माण अन्तिम चरणमा पुगेको छ ।
यो कार्यक्रमअन्तर्गत फोहोर व्यवस्थापन, सीप विकास, उपकरण प्रयोग, विद्युतीय फोहोर संकलन तथा पुनःप्रयोग, र रोजगारी सिर्जनाजस्ता विषयमा ज्ञान प्रदान गरिनेछ ।
चिरीबाबु महर्जन ले धनगढीको अभ्यासबाट अन्य शहरहरूले पनि सिक्नुपर्ने बताए। उनले फोहोर पुनःप्रयोगमा जोड दिँदै बञ्चरे डाँडामा पठाइने फोहोरको मात्रा घटाउनुपर्ने धारणा राखे । धनगढी उपमहानगरपालिकाले सञ्चालन गर्दै आएको ‘हाम्रो धनगढी, सफा धनगढी’ र ‘हरित धनगढी’ जस्ता कार्यक्रमलाई यसले थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij