Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । बुटवलमा विभिन्न मेडिकल क्लिनिकमा उपचारका क्रममा पाल्पाको बगनासकाली गाउँपालिका–२ की गीता पाण्डे को मृत्यु भएको घटनामा जोडिएका दुई चिकित्सकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । खत्री नर्सिङ होमका सञ्चालक डीबी खत्री र इन्दुलेखा स्वास्थ्य क्लिनिकका चिकित्सक सतिष रुपाखेतीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
मृतकका श्रीमान् प्रकाश पाण्डेले डा.खत्री र रुपाखेतीसहित पाँच जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । सोही आधारमा जोनल फार्मेसी तथा क्लिनिकका सञ्चालक सन्ध्या बस्नेत र निलम घर्ती तथा इन्दुलेखा स्वास्थ्य क्लिनिकका सञ्चालक खगेन्द्रप्रसाद पाण्डेलाई प्रहरीले मंगलबार बिहान नै पक्राउ गरेको थियो ।
डा. खत्री र रुपाखेतीलाई भने मंगलबार बेलुका घटनाबारे बुझ्न प्रहरीले फोन गरी कार्यालय बोलाएको थियो । कार्यालय आएपछि नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख निशान्त श्रीवास्तव ले जानकारी दिए । पक्राउ परेका अन्य तीन जनालाई जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको र अन्यको संलग्नता देखिए थप कारबाही गरिने प्रहरीले जनाएको छ ।
यता, मृतकका परिवारले उपचारसम्बन्धी कागजातसमेत जोनल फार्मेसीले लुकाएको आरोप लगाएका छन् । प्रमाण नष्ट हुन सक्ने आशंका व्यक्त गर्दै उनीहरूले निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेका छन् । मंगलबार आफन्तहरूले ती क्लिनिकहरू घेराउ गरी तालाबन्दी समेत गरेका थिए ।
श्रीमान् पाण्डेका अनुसार करिब १२ हप्ताको गर्भमा समस्या देखिएपछि वैशाख ५ गते श्रीमतीलाई लिएर बुटवल आएका थिए । सुरुमा उनलाई इट्टाभट्टीस्थित खत्री नर्सिङ होममा लगिएको र त्यहाँ औषधि प्रयोग गरी गर्भपतन गराउने प्रयास गरिएको थियो ।
त्यसपछि अवस्था सुधार नभएपछि उनलाई बुटवल अस्पताल लाइनस्थित जोनल फार्मेसी र इन्दुलेखा क्लिनिकमा लगिएको थियो । त्यहाँ पनि औषधि प्रयोग गरी उपचार गरिएको तर स्वास्थ्य अवस्था झनै जटिल बनेको परिवारको भनाइ छ ।
अवस्था गम्भीर बनेपछि उनलाई अन्ततः लुम्बिनी सिटी अस्पताल पुर्याइएको थियो । तर अस्पतालले मृत घोषणा गरेको र मृत्युको वास्तविक कारण स्पष्ट नभएको श्रीमान् पाण्डेले बताए । गीता पहिलो बच्चा जन्मिएको पाँच वर्षपछि दोस्रो पटक आमा बन्ने तयारीमा थिइन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij