Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीले क्रियाशील सदस्यता खारेज गर्ने नभएर अद्यावधिक गर्न लागेको प्रष्ट्याएका छन् । उनले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत सदस्यता अद्यावधिकबारे प्रष्ट्याएका हुन् ।
‘नेपाली कांग्रेसले यसअघिको क्रियाशील सदस्यता खारेज गर्न लागेको हो रु भनेर धेरैले मलाई प्रश्न गर्नुभएको सन्दर्भमा यो लेख्दैछु,’ महामन्त्री पौडेलले भनेका छन्, ‘हामीले क्रियाशील खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं ।’
अद्यावधिक हुने क्रियाशीलले कांग्रेसलाई गाउँ–गाउँमा जोड्ने र समर्पित क्रियाशील सदस्यहरूको नवीकरणले पार्टीलाई थप जिम्मेवार र मजबुत बनाउने उनको भनाइ छ ।
‘विगतमा देखिएका त्रुटि हटाउन यसपटक हामीले प्राविधिक पक्षमा विशेष ध्यान दिएर क्रियाशील अद्यावधिक प्रक्रिया अघि बढाउँदैछौं,’ महामन्त्री पौडेलको भनाइ छ, ‘विद्यमान परिस्कृत प्रणालीबाट अद्यावधिक गर्दा हामीले क्रियाशीलमा यसअघि भोग्दै आएका समस्या र अन्योल हटाउन सकिन्छ ।’
महामन्त्री पौडेलले भोलि (मंगलबार) बाट कांग्रेसका सम्पूर्ण क्रियाशील सदस्यहरूलाई सदस्यता अद्यावधिक गर्न तथा शुभेच्छुक र कांग्रेसमा आस्था राख्नेहरूलाई क्रियाशील सदस्यता लिन अनुरोध गरेका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij