Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल–गैँडाकोट राजमार्गको आज स्थलगत अवलोकन गरेका छन् ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाइएको निर्माणाधीन उक्त राजमार्गको उनले चितवनबाट स्थलमार्ग हुँदै नवलपरासीका विभिन्न क्षेत्रमा अवलोकन गर्नुका साथै निर्माणका क्रममा देखिएका समस्याका बारेमा जानकारी लिएका छन् ।
गृहमन्त्री गुरुङ निर्माणाधीन राजमार्गको अवस्थाको जानकारी लिएर स्थलमार्ग हुँदै आज रुपन्देही आइपुगेका छन् । रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी मेघनाथ पाध्याले यसबारे जानकारी दिएका छन् । उनका अनुसार गृहमन्त्री आजै भैरहवाबाट काठमाडौँ फर्किएका छन् ।
त्यस्तै गृहमन्त्री गुरुङले आजै निर्माणाधीन बुटवल–गोरुसिङ्गे सडकको विषयमा जानकारी लिएका छन् । राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाइएको उक्त आयोजनाका लागि आवश्यक नदीजन्य सामग्रीको अभावले निर्माणले गति लिन नसकेको बारेमा आयोजना प्रमुख इन्जिनियर कुशलता न्यौपानेले गृहमन्त्रीलाई जानकारी दिएका छन् ।
साथै गृहमन्त्री गुरुङले आज निर्माण कम्पनीका प्रतिनिधिसहित बुटवलको तिनाउ नदीको मगरघाट क्षेत्रको अवलोकन गरेका छन्। आयोजना प्रमुख न्यौपानेका अनुसार सो क्षेत्र तिनाउ नदीबाट नदीजन्य पदार्थ निकाल्न मिल्ने स्थानका रूपमा मानिएको छ ।
आयोजना प्रमुख न्यौपानेले निर्माण व्यवसायी र आयोजना कार्यालयका तर्फबाट नदीजन्य पदार्थको अभाव हुँदा काम प्रभावित भएको विषयमा गृहमन्त्री गुरुङलाई जानकारी गराएकाले समस्या समाधान हुनेमा विश्वास व्यक्त गरेका छन् ।
राष्ट्रिय गौरवको आयोजना बुटवल–गोरुसिङ्गे सडक विस्तार आयोजनाका लागि आवश्यक माटो, भष्कट र नदीजन्य सामग्रीको अभावका कारण पुल, कल्भर्ट र नालीबाहेकका अधिकांश काम ठप्पजस्तै भएका छन् । उनका अनुसार नदीजन्य पदार्थको अभावले प्रभावित बनेको क्षेत्रअन्तर्गत बुटवलको पाखापानबाट रुपन्देहीको कोठीनदीसम्म पर्छ ।
“बुटवलको पाखापानबाट कोठीनदीसम्मको क्षेत्रका अधिकांश ठाउँमा लाखौँ घनमिटर माटो, भष्कट र नदीजन्य सामग्री आवश्यक पर्छ । यस आयोजनाका लागि अझै माटो तथा भष्कट आठ लाख १० हजार घनमिटर र नदीजन्य पदार्थ करिब सात लाख ४९ हजार घनमिटर आवश्यक पर्छ,” आयोजना प्रमुख न्यौपानेले भने ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij