Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्यालले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणका विषयमा चासो देखाएका छन् ।
ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र आयोजनाका प्रमुख कार्यकारी अधिकृत अरुण रजौरियासँग बिहीबार आफ्नै कार्यकक्षमा छलफल गर्दै सभामुख अर्यालले आयोजनाको निर्माण कार्य निश्चित समयसीमा तोकेर अगाडि बढाउनुपर्ने बताए ।
“यो राष्ट्रिय गौरवको परियोजना हो । यो केवल विद्युत् उत्पादनसँग मात्र सम्बन्धित छैन, पर्यटन, कृषि उत्पादनको बजारीकरण र रोजगारी प्रवर्द्धनसँग पनि प्रत्यक्ष जोडिएको समग्र राष्ट्रिय महत्त्वको विषय हो,ू उनले भने, ूत्यसैले जति ढिलाइ हुनु थियो भयो, अब यसको निर्माण कार्यलाई गति दिन थप ढिलाइ गर्नु हुँदैन ।”
सभामुख अर्यालले आयोजनालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न आयोजना प्रमुखको ध्यानाकर्षण गराए । “स्पष्ट कार्यतालिका बनाउने, कुन मितिमा काम सुरु गर्ने र कहिले सम्पन्न गर्ने भन्ने निर्धारण गरेर अघि बढ्नुस्,” अर्यालको भनाइ उद्धृत गर्दै उनको सचिवालयले जानकरी दिएको छ ।
छलफलमा ऊर्जामन्त्री श्रेष्ठले आयोजना निर्माणलाई तीव्रता दिन सरकारका तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । “सरकारी समस्या कहाँ छ भन्ने स्पष्ट पार्नुहोस्, हामी आवश्यक समन्वय गर्नेछौँ,” आयोजना प्रमुखसँग उनले भने ।
बुढीगण्डकी जलविद्युत् आयोजना १२ सय मेगावाट क्षमताको जलायशयुक्त आयोजना हो । राष्ट्रिय गौरवको यो आयोजना गोरखा र धादिङको सिमानामा पर्छ । आयोजनाको अनुमानित लागत ३ खर्ब ७४ अर्ब रुपैयाँबराबर छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij