Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । एमाले सचिव महेश बस्ने ‘भूमिगत’ बनेको व्यापक हल्ला चलिरहँदा उनी सामाजिक सञ्जालमा पूर्ववत सक्रिय देखिएका छन् । हिजो साँझ केही घण्टा उनको मोबाइल अफ हुँदा ‘भूमिगत’ बनेको हल्ला सुरू भएको थियो ।
बस्नेतले केही बेरअघि ताजा स्टाटस लेख्दै आज दिउँसो माइतीघर मण्डलामा आयोजना हुने विरोध कार्यक्रममा अपिल हुन आह्वान गरेका छन् । बालेन नेतृत्वको सरकार अधिनायकवादी र निरंकूश शैलीमा अघि बढिरहेको उनको टिप्पणी छ । स्टाटसमा उनले सुदन गुरुङलाई ‘कथित गृहमन्त्री’ भनेका छन् । आन्दोलनको मोर्चामा भेट हुने बताएका छन् ।
यस्तो छ उनको स्टाटस
वर्तमान अधिनायकवादी र निरंकूश शैलीमा अघि बढिरहेको बालेन नेतृत्वको सरकारद्वारा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीमाथि गरिएको प्रतिशोधपूर्ण गिरफ्तारी तथा कथित गृहमन्त्रीका सबै प्रकारका अराजक गतिविधिहरूको विरोधमा नेकपा (एमाले) राजधानी प्रदेशले आयोजना गर्न लागेको विशेष प्रदर्शनमा सशक्त सहभागिता जनाऔँ ।
आन्दोलनको मोर्चामा भेट हुनेछ । जुझारु अभिवादन सहित।
यता गृहमन्त्री गुरुङ भने बस्नेतलाई पक्राउ गर्ने योजनामा छन् । उनको सचिवालयका अनुसार हिजो बस्नेतलाई पक्राउको लागि प्रहरी परिचालनसमेत गरिएको थियो । सादा पोशाकका प्रहरी च्यासलस्थित एमाले मुख्यालय पुग्दा उनी नभेटिएको दावी सचिवालय स्रोतले गरेको छ ।
स्रोतले भन्यो, ‘गृहमन्त्रीले बस्नेतलाई यथाशीघ्र पक्राउ गर्न आदेश दिइसक्नु भएको छ । एक-दुई दिनमा उहाँ समातिनुहुन्छ ।’
कुन आरोपमा पक्राउ गर्ने भन्ने चाहिँ सचिवालयले खुलाउन सकेन । उनीविरुद्ध शोभा पाठकले हालेको मुद्दा अदालतमा विचाराधीन छ । पाठक हिजो उनलाई पक्राउ गर्नुपर्ने माग लिएर प्रहरीमा पुगेकी थिइन् ।
बस्नेतले भने आफूलाई पक्राउ गर्ने कुनै पनि आधार नभएको बताउँदै आएका छन् । आफूलाई गिरफ्तार गरेर आन्दोलन कमजोर पार्ने षडयन्त्र भइरहेको टिप्पणी उनले हिजो गरेका थिए । आफ्नो फोन अफ रहेको र फरार भएको हल्ला गलत भएको बस्नेतले बताएका छन् । उनको फोन अहिले अन छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij