Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । धितोपत्र बजारमा साताको पहिलो कारोबार दिन आइतबार उछाल देखिएको छ। पछिल्ला केही दिनदेखि लगातार बढिरहेको नेप्से परिसूचकले आज पनि सोही लयलाई पछ्याउँदै करिब ७ महिनायताकै उच्च बिन्दु चुमेको हो।
आइतबार नेप्से परिसूचक ५४.५१ अंकले वृद्धि भई २९३१.५५ को बिन्दुमा पुगेर रोकिएको छ। यसअघि गत साउन १४ गते नेप्से २९५४.१४ को बिन्दुमा पुगेको थियो, जसलाई पछ्याउँदै आज बजारले नयाँ उचाइ तय गरेको हो। नेप्सेसँगै सेन्सेटिभ इण्डेक्स पनि ११.११ अंकले बढेको छ।
बजारमा परिसूचक मात्र नभई कारोबार रकमले पनि नयाँ उत्साह थपेको छ। आइतबार ३६४ कम्पनीका ६ करोड १४ लाख ७ हजार कित्ता सेयर २ लाख ४ हजारभन्दा बढी पटक खरिदबिक्री हुँदा कुल २३ अर्ब ५९ करोड ७७ लाख १२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। यो कारोबार रकम पनि गत साउन ११ गते (२६ अर्ब ५७ करोड) पछिकै उच्च हो।
आजको बजारमा ७ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। कर्पोरेट डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, रिलायन्स स्पिनिङ्ग मिल्स, अभियान लघुवित्त, सोलु हाइड्रोपावर, भुजुङ्ग हाइड्रोपावर र होटल फरेष्ट इनले १० प्रतिशतको हाराहारीमा नाफा कमाएका छन्। यस्तै विजय लघुवित्त र एनआईसी एशिया लघुवित्तका लगानीकर्ताले पनि उल्लेख्य नाफा कमाएका छन्। कारोबारका आधारमा आज कुमारी बैंक अग्रस्थानमा रह्यो। यस बैंकको ८५ करोड ९६ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भयो। त्यस्तै नेशनल हाइड्रोपावर र शिवम् सिमेन्ट्स पनि सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा परेका छन्।
आज कारोबार भएका १३ उपसमूहमध्ये १२ वटामा हरियाली छाएको छ भने व्यापार उपसमूह मात्र रातो अंकमा सीमित भयो। लघुवित्त उपसमूहका लगानीकर्ताले सबैभन्दा धेरै ४.२१ प्रतिशत नाफा कमाएका छन्। होटल तथा पर्यटन, बैंकिङ्ग, विकास बैंक, र बीमा लगायतका उपसमूहहरूमा पनि २ प्रतिशतभन्दा बढीको वृद्धि देखिएको छ।
समग्रमा, लगानीकर्ताको मनोबल उच्च देखिँदा बजारमा ठूलो परिमाणको कारोबारसहित परिसूचकले सकारात्मक मोड लिएको विश्लेषण गरिएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij