Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौं । धनुषा प्रतिनिधिसभा सदस्य किशोरी साह कमलले आफ्नो उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध दायर गरेको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ जारी छ । न्यायाधीश विनोद शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासमा सुनुवाइ भइरहेको हो।
यसअघि फागुन २५ गते सर्वोच्चले उक्त रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै साहको उम्मेदवारी खारेज गर्नुको कारण निर्वाचन आयोगलाई सोधेको थियो। न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले निर्वाचन आयोगलगायतका विपक्षीलाई छलफलका लागि बोलाउने आदेश दिएको थियो।
मतदानअघि मौन अवधि सुरू भएकै दिन फागुन १९ गते आयोगले उजुरीको आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमलको उम्मेदवारी खारेज गरेको थियो।
सोही दिन साहले आयोगको उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । उम्मेदवारी खारेजसम्बन्धी विषय सर्वोच्चमा विचाराधीन रहेको भन्दै अन्तिम आदेश नआएसम्म मतपरिणाम सार्वजनिक गर्न आयोगले निर्देशन दिएको थियो। आयोगको निर्देशनपछि निर्वाचन सम्पन्न भएपनि धनुषा-१ को मतपरिणाम सार्वजनिक भएको छैन।
कर्जा सूचना केन्द्रको कालोसूचीमा नाम रहेको आधारमा निर्वाचन आयोगले साहको उम्मेदवारी खारेज गरेको थियो। त्यसपछि साहले कर्जा सूचना केन्द्रलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दायर गरेका थिए। सर्वोच्च अदालतले साहको नाम कर्जा सूचना केन्द्रको कालोसूचीमा नराख्न अन्तरिम आदेश जारी गरेको छ।
निर्वाचन आयोगले धनुषा- १ मा नेकपाका मातृका यादवलाई विजयी भएको घोषणा गरिसकेको छ। साहको पक्षमा अत्यधिक मत आएपनि मुद्दा सर्वोच्चमा विचाराधीन अवस्थामा रहेकै अवस्थामा निर्वाचन आयोगले यादवलाई निर्वाचित भएको घोषणा गरेको हो। उनलाई निर्वाचित भएको प्रमाणपत्र समेत वितरण गरिसकेको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij