Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौँ । जेनेभास्थित संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि रामप्रसाद सुवेदी विश्व व्यापार संगठन (डब्लुटीओ) अन्तर्गतको व्यापार र वातावरण समितिको अध्यक्षमा सर्वसम्मत रूपमा निर्वाचित भएका छन्।
परराष्ट्र मन्त्रालयका अनुसार मार्च ११ मा जेनेभामा बसेको विश्व व्यापार संगठनको महासभा बैठकबाट सुवेदीलाई एक वर्षका लागि उक्त समितिको अध्यक्षमा चयन गरिएको हो।
व्यापार र वातावरण समिति विश्व व्यापार संगठनका सदस्य राष्ट्रहरूबीच व्यापार नीतिले वातावरणमा पार्ने प्रभाव तथा वातावरणीय नीतिले व्यापारमा पार्ने असरबारे छलफल गर्ने स्थायी मञ्च हो । यसले वातावरणमैत्री व्यापार प्रवर्द्धन तथा जलवायुसँग सम्बन्धित व्यापारिक उपायहरूबारे संवादलाई सहजीकरण गर्ने काम गर्छ ।
नेपालका लागि यो नेतृत्व भूमिका महत्वपूर्ण मानिएको छ । नेपाल अति कम विकसित मुलुकको श्रेणीबाट स्तरोन्नति हुने तयारीमा रहेको अवस्थामा विश्व व्यापार संगठनका सदस्य राष्ट्रहरूसँग सहकार्य गर्दै नेपालको व्यापारलाई विश्व बजारसँग अझ सुदृढ रूपमा जोड्ने प्रयास भइरहेका बेला यो जिम्मेवारी प्राप्त भएको मन्त्रालयले जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij