Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौँ । नेपाल आयल निगमले ग्यासको अभावसम्बन्धी केही उद्योगमा देखिएको समस्यालाई ध्यानमा राख्दै उपभोक्तालाई इन्धन र ग्यासको खपत कम गर्न आग्रह गरेको छ।
निगमले जारी गरेको सूचनामा एलपी ग्यासको सहज आपूर्ति र बिक्री वितरणका विषयमा यसअघि माघ १९ र माघ २६ गते प्रेस विज्ञप्तिमार्फत जानकारी गराइसकेको उल्लेख गरिएको छ ।
निगमका अनुसार मध्यपूर्वमा देखिएको तनावका कारण हालसम्म नेपालमा प्रत्यक्ष प्रभाव नपरे पनि विश्वका कतिपय देशले पेट्रोलियम पदार्थको प्रयोग र वितरणमा सुरक्षात्मक उपाय अपनाउन थालेका छन् । नेपाल पूर्ण रूपमा आयातमा निर्भर भएकाले खपतमा सावधानी अपनाउन उपभोक्तालाई आग्रह गरिएको हो ।
निगमले आवश्यक परिमाणमा मात्र पेट्रोलियम पदार्थ तथा ग्यास खरिद र प्रयोग गर्न उपभोक्तालाई अनुरोध गरेको छ । मासिक एक सिलिन्डर ग्यास प्रयोग गर्ने अवस्थामा अतिरिक्त सिलिन्डर नभराउन, अनावश्यक रूपमा ग्यास भण्डारण नगर्न तथा सम्भव भएसम्म ग्यासको सट्टा विद्युत प्रयोग बढाउन आग्रह गरिएको छ ।
यसैगरी सवारी साधन प्रयोगमा राइड सेयरिङ अपनाउन र विद्युतका लागि जेनेरेटर प्रयोग नगर्न पनि निगमले सुझाव दिएको छ। उद्योगहरूलाई पनि पेट्रोलियम पदार्थ र ग्यासको खपत कम गर्न आग्रह गरिएको छ ।
निगमले हाल इन्धन र एलपी ग्यासको आयात तथा वितरण नियमित रूपमा भइरहेको जनाएको छ । तर विश्व बजारमा देखिने सम्भावित प्रभावलाई ध्यानमा राख्दै आवश्यक मात्रामा मात्र इन्धन र ग्यास खरिद गर्न र अनावश्यक भण्डारण नगर्न अनुरोध गरिएको छ ।
साथै निगमका निर्देशन विपरीत ग्यास सिलिन्डर अनावश्यक रूपमा जम्मा गर्ने, बढी मूल्यमा बिक्री गर्ने वा नयाँ सिलिन्डरको अवैध बजारिकरण गरेको पाइएमा नेपाल सरकारको कानुन अनुसार कारबाही गरिने चेतावनी पनि निगमले दिएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij