Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले मध्यपूर्व क्षेत्रमा बढ्दो तनावलाई ध्यानमा राख्दै त्यहाँ बसोबास गरिरहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
संघले इजरायल, इरान, कतार, कुवेत, संयुक्त अरब इमिरेट्स, बहराइन लगायतका देशमा विकसित पछिल्ला घटनाक्रमले नेपालीहरूको सुरक्षाप्रति गम्भीर चिन्ता बढाएको जनाएको छ। मध्यपूर्व क्षेत्रमा रहेका १९ लाखभन्दा बढी नेपालीको सुरक्षालाई प्राथमिकतामा राखेर आवश्यक सावधानी अपनाउन अपिल गरिएको छ ।
संघले सम्बन्धित देशका सरकारी निकाय तथा नेपाली राजदूतावासबाट जारी सुरक्षा निर्देशन कडाइका साथ पालना गर्न, अत्यावश्यक बाहेक बाहिर ननिस्कन, अनावश्यक यात्रा नगर्न तथा स्थानीय अवस्थाबारे निरन्तर जानकारी राख्न अनुरोध गरेको छ। साथै राष्ट्रिय समन्वय परिषद्, नेपाली दूतावास तथा स्थानीय नेपाली समुदायसँग नियमित सम्पर्कमा रहन पनि आग्रह गरिएको छ ।
हालको अवस्था सामान्य नभएसम्म मध्यपूर्वका प्रभावित देशहरूमा यात्रा योजना स्थगित गर्न समेत संघले सुझाव दिएको छ ।
गैरआवासीय नेपाली संघले नेपाल सरकार र परराष्ट्र मन्त्रालयलाई विदेशमा रहेका नेपालीहरूको अवस्थाबारे निरन्तर निगरानी राखी आवश्यक सहयोग तथा सुरक्षित व्यवस्थापनका लागि प्रभावकारी कदम चाल्न आग्रह गरेको छ। आवश्यक परे सरकारसँग सहकार्य गर्न संघ तयार रहेको पनि जनाएको छ।
संघले विश्वभर रहेका नेपालीहरूको सुरक्षा आफ्नो मुख्य प्राथमिकता रहेको उल्लेख गर्दै आपत्कालीन अवस्थामा हेल्पलाइन नम्बर ९८०१८६११०० / ९८०१८६११२३ मा सम्पर्क गर्न समेत आग्रह गरेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij