Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौँ । कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री राजकुमार शर्मा कर्णाली प्रदेश सभा सदस्यबाट पदमुक्त भएका छन् ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले शर्मालाई कारवाही गर्दै कर्णाली प्रदेशसभा संसदीय दलको कार्यालयले शर्मालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको सूचना प्रदेश सभा सचिवालयले टाँस गर्दै उनी प्रदेश सांसद पदबाट मुक्त भएको जानकारी दिएको हो ।
राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३४ को उपदफा (१) बमोजिम गरिएको निष्कासन सम्बन्धी पत्र सचिवालयमा दर्ता भई सोही ऐनको दफा ३४ को उपदफा (२) अनुसार माननीय सभामुखसमक्ष पेश गरिएको जनाइएको छ ।
उक्त ऐनको दफा ३५ को उपदफा (१) अनुसार सभामुखले सूचना दर्ता भएको मितिले १५ दिनभित्र सभालाई जानकारी गराउनुपर्ने व्यवस्था रहेको छ । तर हाल कर्णाली प्रदेशसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित रहेकाले दफा ३५ को उपदफा (२) अनुसार सम्बन्धित सूचना सचिवालयको सूचना पाटीमा टाँस गरिएको बताइएको छ ।
सभामुखको निर्देशनअनुसार कर्णाली प्रदेशसभा नियमावली, २०८१ को नियम २ को खण्ड (म) को उपखण्ड (८) बमोजिम सबैको जानकारीका लागि सूचना प्रकाशित गरिएको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले जनाएका छन् ।
शर्मा जनार्दन शर्मा पक्षमा लागेपछि नेकपाले कारवाही गरेको थियो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij