Jun 04 2026 | २०८३, जेठ २१ गते
पोखरा । विश्व बैंकको सहयोगमा पोखरा महानगरपालिकामा सञ्चालन भइरहेका विभिन्न सडक स्तरोन्नति आयोजनाको स्थलगत अनुगमन गरेको छ । अनुगमनपछि विश्व बैंक र परियोजना समन्वय इकाइ (पीसीओ)को टोलीले आयोजना प्रगति, निर्माण अवस्था तथा स्थानीय समस्याबारे छलफल गरेको हो ।
अनुगमनमा तालचोक–बेगनास सडक, शिशुवा–शिसाघाट सडक तथा दोबिल्ला–बाघमारा–तिक्लाङ–बडहरकोट–लामगाडी–चापलाङ–उपल्लो पुडिँटार–तल्लो पुडिँटार–झिगटे–तगारेगौडा–तल्लोगगनगौडा सडक स्तरोन्नति आयोजनाको अवस्था अवलोकन गरिएको थियो ।
टोलीका अनुसार तालचोक–बेगनास सडक स्तरोन्नतिको अधिकांश काम अन्तिम चरणमा पुगेको छ। शिशुवा–शिसाघाट सडकखण्डअन्तर्गत खुदीखोलासम्मको निर्माण कार्य सम्पन्न भइसकेको जनाइएको छ ।
यस्तै, दोबिल्ला–बाघमारा हुँदै तल्लोगगनगौडासम्मको सडक स्तरोन्नति कार्यको प्रगति सन्तोषजनक रहेको मूल्याङ्कन गरिएको छ । अनुगमनका क्रममा नगर प्रमुख धनराज आचार्यले आयोजनाहरू यथाशीघ्र सम्पन्न गर्न महानगरपालिकाले आवश्यक सहजीकरण गरिरहेको जानकारी दिए । उनले स्थानीय समस्या समाधान गर्दै निर्माण कार्यलाई तीव्रता दिइएको बताए ।
छलफल कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल, नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाका उपनिर्देशक सविन कर्माचार्य, विश्व बैंकका प्रतिनिधि रेखा श्रीस, अमेन राज, वसन्त पौडेल, पीसीओका विनोद पन्त, परियोजनाका प्राविधिक टोली तथा सम्बन्धित इन्जिनियरहरूको सहभागिता रहेको थियो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij