Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । सर्लाही–३ का जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार डा. जेपी यादवमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले होटल व्यवसायी प्रशान्त वाइवालाई पक्राउ गरेको छ । चुनाव प्रचारप्रसारको सिलसिलामा बागमती नगरपालिकाको बागमती चोक पुगेका उम्मेदवार यादवमाथि वाइवाले अपमानजनक शब्द प्रयोग गर्दै दुर्व्यवहार गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
उम्मेदवार यादवका अनुसार उनी आफ्ना कार्यकर्ताहरूसहित होटलमा खाजा खाइरहेका बेला वाइवा आएर एक्कासि ‘मधेसी’ भन्दै अपमान गरेका थिए । गालीगलौज मात्र नभई वाइवाले आफूमाथि हातपात समेत गरेको यादवले दाबी गरेका छन् ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार डा. जेपी यादवका अनुसार उनी आफ्ना कार्यकर्ताहरूसहित होटलमा खाजा खाइरहेका बेला वाइवा आएर एक्कासि ‘मधेसी’ भन्दै अपमान गरेका थिए ।
घटनापछि यादवले तत्कालै प्रहरीलाई खबर गरेपछि प्रहरी टोलीले वाइवालाई घटनास्थलबाटै समातेको थियो । निर्वाचनको मुखमा उम्मेदवारमाथि नै यसरी दुर्व्यवहार भएपछि स्थानीय राजनीति तरंगित बनेको छ ।
सर्लाहीका डिएसपी सरोज राईले उम्मेदवार यादवको मौखिक उजुरीका आधारमा वाइवालाई नियन्त्रणमा लिएर हरिवन प्रहरी कार्यालयमा राखिएको जानकारी दिएका छन् । प्रहरीले घटनाको संवेदनशीलतालाई ध्यानमा राख्दै अनुसन्धान अघि बढाएको छ ।
हालसम्म लिखित उजुरी नआए पनि मौखिक जानकारीका आधारमा वाइवामाथि सोधपुछ र थप अनुसन्धान भइरहेको डिएसपी राईले बताए ।
यस घटनाबारे थप स्पष्ट पार्न र आफ्नो धारणा सार्वजनिक गर्न जसपा नेपालका उम्मेदवार डा. जेपी यादवले आजै दिउँसो पत्रकार सम्मेलनको आयोजना गर्न लागेका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij