Jun 07 2026 | २०८३, जेठ २४ गते
काठमाडौं । अब लगानीकर्ताले सेयर किन्नका लागि स्टक ब्रोकर कम्पनीबाटै ऋण (मार्जिन सुविधा) लिन पाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले १ फागुनदेखि ‘मार्जिन कारोबार सुविधासम्बन्धी निर्देशिका–२०८२’ लागू गरेसँगै यो व्यवस्था सुरु हुन लागेको हो ।
यद्यपि, सबै कम्पनीको सेयरमा यो सुविधा पाइँदैन । बोर्डले केही सर्त तोकेको छ । मार्जिन सुविधा लिनका लागि कम्तीमा २५ लाख कित्ता सर्वसाधारण सेयर सूचीकृत भएको हुनुपर्छ (लकइन सेयरबाहेक) । त्यस्तै कम्पनीको नेटवर्थ चुक्ता पुँजीबराबर वा बढी हुनुपर्छ । पछिल्लो तीन वर्षमध्ये कम्तीमा दुई वर्ष नाफा कमाएको हुनुपर्छ । आइपिओमार्फत सूचीकृत भएको सेयर कम्तीमा दुई वर्ष पुरानो हुनुपर्छ ।
मार्जिन ऋण दिन ब्रोकर कम्पनीले पनि निश्चित योग्यता पूरा गर्नुपर्छ । यस्ता कम्पनीको चुक्ता पुँजी कम्तीमा २० करोड रुपैयाँ हुनुपर्छ र राफसाफ सदस्यता प्राप्त गरेको हुनुपर्छ । त्यसबाहेक निक्षेप सदस्य वा निक्षेप सदस्य कम्पनीसँग सम्बन्धित हुनुपर्छ । सुविधा दिनुअघि लेखा परीक्षण गरिएको वित्तीय विवरणसहित नेप्सेसँग सहमति लिनुपर्ने व्यवस्था गरिएको छ ।
लगानीकर्ताले सेयर किन्दा सुरुमा कम्तीमा ३० प्रतिशत रकम आफैँ हाल्नुपर्छ, बाँकी रकम ब्रोकरले ऋणका रूपमा दिन सक्छ । मार्जिनमा किनेको सेयरको मूल्य हरेक दिन ‘मार्क टु मार्केट’ आधारमा मूल्यांकन हुनेछ । सेयरको मूल्य बढे पनि त्यसकै आधारमा थप ऋण लिन पाइँदैन ।
बजार घट्न थालेमा ब्रोकरले लगानीकर्तासँग थप पैसा माग्न सक्छ । लगानीकर्ताले कम्तीमा २० प्रतिशत सम्भार मार्जिन कायम राख्नुपर्छ । आवश्यक रकम राख्न नसके ब्रोकरले मार्जिन कल गर्नेछ ।
पैसा थप्न नसकेमा ए, बी र जी वर्गका कम्पनीको सेयर धितो राख्न सकिनेछ, तर त्यस्तो सेयरको मूल्य बजार मूल्यको ६० प्रतिशत मात्र गणना गरिनेछ । सेयरको मूल्य सुध्रिएर आवश्यक मार्जिन कायम भएमा लगानीकर्ताको अनुरोधमा ब्रोकरले धितोमा राखिएको सेयर फुकुवा गर्नुपर्नेछ ।
ब्रोकरले आफ्नो प्रमाणित नेटवर्थको पाँच गुणासम्म मार्जिन सुविधा दिन सक्छ । एउटै ग्राहक वा उसको परिवार–सम्बद्ध संस्थालाई कुल सुविधाको १० प्रतिशतभन्दा बढी ऋण दिन पाइँदैन । ऋण दिँदा लगानी विविधीकरणलाई ध्यान दिनुपर्नेछ ।
मार्जिन कारोबार सुविधाको समयावधि एक वर्षको हुनुपर्ने उल्लेख छ । यसपछि बोर्डले तोकेर नवीकरणको समयावधि तोक्न सक्ने व्यवस्था छ । मार्जिन कारोबार सुविधा लिन ब्रोकरमार्फत लगानीकर्ताले मार्जिन कारोबार खाता र मार्जिन हितग्राही खाता खोल्नुपर्नेछ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij