Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २१ फागुनको निर्वाचनका लागि पार्टीले घोषणापत्र नभई प्रतिज्ञापत्र ल्याउने बताएका छन्।
सिराहा निर्वाचन क्षेत्र ३ ले गोलबजारमा आयोजना गरेको स्वागत कार्यक्रममा उनले प्रतिज्ञापत्र ल्याउने बताए। “फागुन २१ गते निर्वाचन हुनेछ। चैतमा सरकार गठन हुनेछ र वैशाख १ गते प्रधानमन्त्रीले उभिएर आफ्नो प्रतिज्ञापत्र सार्वजनिक गर्दै पाँच वर्षभित्र गर्ने कामबारे प्रतिबद्धता जनाउनेछन्,” उनले भने, “भाषण होइन, काम गरेर देखाइन्छ। वैशाख महिनाभरि बनाइएका योजनाको मूल्यांकन जेठ १ गते गरिन्छ। एक-एक महिनामा कामको मूल्यांकन हुन्छ र नागरिकलाई नै मूल्यांकनमा सहभागी गराइन्छ।”
सभापति थापाले प्रत्येक महिनाको १ गते सरकारको कामको समीक्षा गर्ने प्रणाली लागु गरिने बताए। “यस्तो सरकार बनाउन सकिन्छ। समय पनि छ। तर यसका लागि उत्साह, अनुभव, जोश, होस र सम्हाल्ने क्षमता चाहिन्छ,” थापाले भने।
उनले सबैलाई मिलाएर अघि बढाउने क्षमता आफूसँग रहेको पनि दाबी गरेका छन्। “केवल उखान-टुक्का र भत्काउने कुरा गरेर हुँदैन,” उनले भने‚ “सबैलाई मिलाएर अघि बढाउने क्षमता चाहिन्छ। जुन क्षमता नेपाली कांग्रेस र मसँग छ।”
सभापति थापाले कांग्रेसका उम्मेदवारले प्रत्येक जिल्लामा गरेका वाचा पूरा हुने दाबी गर्दै त्यसको जिम्मेवारी आफूले लिने पनि बताए। त्यसका लागि जनताले पहिले जिताएर पठाउनुपर्ने उनको आग्रह छ। “हामी सपना बोकेर आएका छौँ। देशभरिका आमाको अनुहारमा मुस्कान ल्याउन चाहन्छौँ। युवालाई भरोसा दिन चाहन्छौँ र साथीहरूलाई नेपाली हुँ भन्ने गर्व दिलाउन चाहन्छौँ,” उनले भने‚ “त्यसका लागि जनताको साथ आवश्यक छ।” उनले युवाहरूकै लागि आफू जोखिम मोलेर पार्टीको सभापति बनेको पनि बताए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij