Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । नेपाल टेलिकमले जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ता ग्राहकका लागि अनलाइनमार्फत केवाईसी (ग्राहक विवरण) अद्यावधिक गर्ने सेवा देशभर सञ्चालनमा ल्याएको छ ।
कम्पनीका अनुसार यसअघि गत पुस २२ गते दूरसञ्चार कार्यालय सुन्धाराबाट परीक्षणका रूपमा सुरु गरिएको सेवा कम्पनीको २२औँ वार्षिकोत्सवको अवसरमा माघ २२ गतेदेखि देशभरका सबै कार्यालयबाट उपलब्ध गराइएको हो ।
यस सेवाअनुसार आफ्नो नाम वा अन्य विवरण सच्याउनुपर्ने ग्राहकले नेपाल टेलिकमको कस्टमर लगइन पोर्टलमार्फत आवश्यक विवरण भरेर अद्यावधिक गर्न सक्नेछन् । त्यसका लागि सम्बन्धित मोबाइल नम्बरमा प्राप्त ओटीपी प्रयोग गरी व्यक्तिगत विवरण र आफूले धेरै कल गर्ने पाँच वटा मोबाइल नम्बरसमेत उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ ।
सबै विवरण भरेपछि प्रमाणीकरणका लागि नजिकको नेपाल टेलिकम कार्यालय वा ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुपर्ने कम्पनीले जनाएको छ । प्राप्त विवरणका आधारमा नेपाल टेलिकमको प्रणालीले ग्राहकको विवरण प्रमाणित गरी अद्यावधिक गर्नेछ ।
कम्पनीका अनुसार अझै धेरै ग्राहकको व्यक्तिगत विवरण अद्यावधिक नभएकाले यो सेवाबाट ग्राहकलाई विवरण सच्याउन सहज हुने विश्वास गरिएको छ । साथै अन्य सरकारी निकायमा समेत विवरण अद्यावधिक राख्न यसले सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij