Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पदोन्नति भएका पाँच जना प्राविधिक प्रहरी अधिकृतहरूलाई शुक्रबार दर्ज्यानी चिह्न प्रदान गरेका छन् । नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक विशेष समारोहका बिच महानिरीक्षक कार्कीले उनीहरूलाई नयाँ पदको दर्ज्यानी चिह्नद्वारा सुशोभित गरेका हुन् ।
नेपाल सरकारको माघ १९ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी उपरीक्षकबाट वरिष्ठ उपरीक्षकमा एक जना, नायव उपरीक्षकबाट उपरीक्षकमा दुई जना र निरीक्षकबाट नायव उपरीक्षक पदमा दुई जना गरी कुल पाँच जनाको पदोन्नति भएको थियो ।
पदोन्नतिसँगै दर्ज्यानी चिह्न पाउनेहरूमा प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक भीमकुमारी पाण्डे, प्राविधिक प्रहरी उपरीक्षकहरू ईशामाया केसी र मोहनसिंह धामी तथा प्राविधिक प्रहरी नायव उपरीक्षकहरू मिनु अवाले र अशोक केसी रहेका छन् ।
समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले पदोन्नति भएका अधिकृतहरूलाई बधाई दिँदै व्यावसायिकताका साथ जिम्मेवारी पूरा गर्न निर्देशन दिए । शान्ति सुव्यवस्था र अपराध अनुसन्धानमा प्राविधिक समूहको भूमिका अपरिहार्य रहेको उल्लेख गर्दै उनले नयाँ पदले साङ्गठनिक उद्देश्य प्राप्तिका लागि थप ऊर्जा दिने विश्वास व्यक्त गरे ।
साथै, उनले आसन्न निर्वाचनलाई भयमुक्त वातावरणमा सम्पन्न गराउन सुरक्षा रणनीतिअनुसार उच्च मनोबलका साथ काम गर्न समेत प्रहरी कर्मचारीहरूलाई सचेत गराए ।
पदोन्नति भएका अधिकृतहरूको तर्फबाट बोल्दै प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक भीमकुमारी पाण्डेले सङ्गठनको श्रीवृद्धिका लागि थप उत्प्रेरित भएर कार्यसम्पादन गर्ने प्रतिबद्धता जनाइन् । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij