Jun 07 2026 | २०८३, जेठ २४ गते
ललितपुर । गोदावरी नगरपालिका– २ का वडासदस्य रमेश विष्टसहित तीनजना एमाले परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । एमालेका पूर्वजिल्ला सदस्यसमेत रहेका रमेश विष्ट, विसंखुनारायणका वडासदस्य प्रवीणकुमार विष्ट र रञ्जन विष्टलाई कांग्रेसका सहमहामन्त्री एवं ललितपुर क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार उदयशमशेर राणाले पार्टी प्रवेश गराएका छन् ।
कांग्रेस प्रवेश गरेलगत्तै उनीहरूलाई चुनाव परिचालन समितिको सदस्यमा मनोनयन गरिएको कांग्रेस ललितपुर क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति सुन्दरमान थिङले जानकारी दिए ।
सहमहामन्त्री राणाले उनीहरूलाई निर्वाचनपछि पार्टीमा उचित जिम्मेवारी दिने प्रतिबद्धता व्यक्त गरे । राणाले कांग्रेस सभापति गगन थापालाई प्रधानमन्त्री बनाउने घोषणासहित कांग्रेस चुनावमा होमिएको उल्लेख गर्दै निर्वाचनपछि कांग्रेस देशकै सबैभन्दा ठुलो पार्टी बन्ने दाबी गरे ।
ललितपुर क्षेत्र नम्बर १ अन्तर्गतका २२ वटै वडा तथा स्थानीय तहमा कांग्रेसले अघिल्लो निर्वाचनमा समेत जित हासिल गरिसकेको स्मरण गराउँदै राणाले यस क्षेत्रमा जित्न कुनै समस्या नरहेको पनि जिकिर गरे ।
पार्टी प्रवेशपछि बोल्दै वडासदस्य रमेश विष्टले वामपन्थी दलहरूमा बढ्दो संगठनात्मक विचलन, आन्तरिक असन्तुलन र जनताप्रतिको उत्तरदायित्व कमजोर बन्दै गएकाले आफूहरूले विकल्प खोज्न बाध्य भएको बताए ।
आइतबार कोन्ज्योसोम गाउँपालिका–नल्लुमा समेत नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टीका पूर्व तथा सक्रिय नेता–कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका थिए । एमाले पूर्ववडा कमिटी अध्यक्ष शेरबहादुर स्याङ्ताङ, प्रताप स्याङ्ताङ तथा नेकपा माओवादीका सक्रिय सदस्य साहिँला स्याङ्ताङ र राजु स्याङ्ताङ कांग्रेस प्रवेश गरेका थिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij