Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । सरकारले राष्ट्रिय आर्थिक गणना २०८२ सञ्चालनका लागि ठूलो संख्यामा जनशक्ति माग गरेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर स्थलगत तथ्याङ्क सङ्कलन र अनुगमन कार्यका लागि करार सेवामा ४ हजार ४३९ जनालाई नियुक्त गर्न आवेदन आह्वान गरेको छ ।
कार्यालयले बिहीबार सार्वजनिक गरेको सूचनाअनुसार ५२६ जना सुपरीवेक्षक र ३ हजार ९१३ जना गणक पदका लागि दरखास्त माग गरिएको हो । गणना कार्य प्रभावकारीरूपमा सम्पन्न गर्न आवश्यक जनशक्ति सीमित अवधिका लागि करारमा लिइने जनाइएको छ ।
सुपरीवेक्षक पदका लागि कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ भने गणक पदका आवेदकले १० जोड २ वा सो सरहको शैक्षिक योग्यता हासिल गरेको हुनुपर्नेछ ।
नियुक्त कर्मचारीको सेवा अवधि करिब साढे दुई महिना रहनेछ । पारिश्रमिकतर्फ सुपरिवेक्षकलाई राजपत्र अनङ्कित प्रथम श्रेणीको सुरुआती तलबमान बराबर मासिक ३४ हजार ७३० रुपैयाँ प्रदान गरिनेछ । त्यस्तै गणकले राजपत्र अनङ्कित द्वितीय श्रेणीको सुरुआती तलबमान अनुसार मासिक ३२ हजार ९०२ रुपैयाँ पाउनेछन् ।
आवेदन अनिवार्य रूपमा अनलाइन माध्यमबाट मात्रै पेश गर्नुपर्नेछ । सूचना पहिलो पटक प्रकाशित भएको मितिदेखि २१ दिनभित्र कार्यालयले उपलब्ध गराएको लिंक वा क्युआर कोड प्रयोग गरी दरखास्त दिन सकिने व्यवस्था गरिएको छ । तोकिएको समयसीमा नाघी वा प्रक्रिया नपुगी प्राप्त आवेदन स्वीकार नगरिने स्पष्ट गरिएको छ ।
उम्मेदवारको छनोट प्रारम्भिक सूची (सर्टलिस्ट) र अन्तर्वार्ताको माध्यमबाट गरिनेछ । कार्यालयले योग्य र दक्ष जनशक्ति छनोट गरी आर्थिक गणनालाई विश्वसनीय र प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij