Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । सशस्त्र प्रहरी बलको रजत महोत्सवका अवसरमा आइतबारदेखि पूर्व–पश्चिम झण्डा मार्च सुरु भएको छ । झापाको मेची पुल तथा कञ्चनपुरको गड्डाचौकी सीमा इलाकाबाट पूर्व–पश्चिम झण्डा मार्च कार्यक्रम सुरु भएको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्रले मेची पुलस्थित सीमा इलाकाबाट आइतबार बिहान उक्त जिल्लाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल र सशस्त्रका नं।१ बराह बाहिनी मुख्यालय, सुनसरीका बाहिनीपति डीआईजी कुमार न्यौपानेले मार्च टोलीलाई झण्डा हस्तान्तरण गरेका हुन् ।
कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका– ११, गड्डाचौकी सीमा इलाकाबाट आइतबार बिहान नै त्यहाँका प्रमुख जिल्ला अधिकारी मदन कोइराला र सशस्त्रका नं. ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति डीआईजी प्रदिपकुमार पालले मार्च टोलीलाई झण्डा हस्तान्तरण गरे ।
सशस्त्रको सीमा सुरक्षाको प्रतिबद्धता, सतर्कता र उपस्थिति सशक्त रुपमा प्रदर्शन गर्न, संगठनभित्रको समन्वय, टोली भावना सुदृढ र सीमावर्ती क्षेत्रका नागरिक, स्थानीय तह तथा सरोकारवाला निकायसँग जनसम्पर्क, विश्वास र सहकार्य अभिबृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जनाएका छन् ।
नेपालको राष्ट्रिय झण्डा र सशस्त्र प्रहरी बल नेपालको झण्डासहित मार्च गर्ने टोली एक जिल्लाबाट अर्को जिल्लामा रहेको सशस्त्र प्रहरी कर्मचारीलाई सो झण्डा हस्तान्तरण गर्नेछ ।
सशस्त्रले २५ औँ वर्षको अवसरलाई स्मरणीय बनाउने तथा देशभर राष्ट्रव्यापी सन्देश फैलाउने उद्देश्यकासाथ पूर्व–पश्चिम झण्डा मार्च गर्न लागिएको थापाले जनाएका छन् । झण्डा मार्चले सशस्त्र प्रहरीको इतिहास, योगदान र सीमा सुरक्षाको भूमिका झल्काउने विश्वास गरिएको छ उनले बताए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij