Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहबीचको एकताप्रति टिप्पणी गरेका छन । उनले नेपाली राजनीतिमा नयाँ पात्रलाई सधैँ ‘आशा’का रूपमा बेच्ने तर अन्ततः निराशा मात्रै बाँडिने प्रवृत्ति दोहोरिँदै गएको बताएका छन्।
बस्नेतका अनुसार गगन थापा आए, अत्यधिक प्रचार गरिए तर बिस्तारै बासी बनाइए। त्यसपछि काण्डै–काण्डले चर्चामा आएका रवि आए, उनी पनि पुरानै बाटोमा हिँडिरहेको देखिएको उनको टिप्पणी छ। ‘लोकप्रियताको आडमा बालेन आए, तर तीन वर्षमा एउटा महानगर नै रूपान्तरण गर्न नसक्ने पात्रले अब देश फेर्छ भन्ने भ्रम पनि सकिन थालेको छ,’ उनले सामाजिक सन्जालमा लेखेका छन्, ‘अनुहार फेरिँदैमा देश फेरिँदैन भन्ने तथ्य बारम्बार प्रमाणित भइसकेको छ।’
उनले बालेनको लोकप्रियता स्वतन्त्र छविसँग गाँसिएको स्मरण गराउँदै विवादित नेतृत्व रहेको दलसँग जोडिनासाथ त्यो आकर्षण तीव्र गतिमा घट्ने दाबी गरे।
बस्नेतले समस्या पुराना दलको अस्तित्व नभई तिनका विकृति भएको भन्दै समाधान नयाँ दल खोल्नु नभई पुराना दललाई परिमार्जन गर्दै राजनीति सुधार गर्नु भएको बताए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij