Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौँ । रिज लाइन इनर्जी लिमिटेडले आज (पुस १३ गते) देखि पहिलो चरणको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि पहिलो चरणमा आईपीओ निष्कासन गरेको हो।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट कुल २६ करोड ७ लाख रुपैयाँ बराबरको २६ लाख ७ हजार कित्ता साधारण सेयर निष्कासन गर्न अनुमति पाएको छ। यसमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात् ११ लाख ८५ हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि छुट्याइएको छ।
कम्पनीले गोरखा जिल्लाको अजिरकोट गाउँपालिकाका सम्पूर्ण वडा, लमजुङको दूधपोखरी गाउँपालिकाका वडा नम्बर १, २ र ३ तथा दोर्दी गाउँपालिकाका वडा नम्बर ४, ५ र ६ का स्थानीय बासिन्दालाई सेयर निष्कासन गरेको छ। स्थानीय बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। यस समूहका लागि आईपीओ छिटोमा पुस २८ गते र ढिलोमा माघ १२ गतेसम्म खुला रहनेछ।
त्यस्तै, कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि १ लाख ४२ हजार २०० कित्ता साधारण सेयर निष्कासन गरेको छ। यस समूहका लगानीकर्ताले पनि न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ पुस १७ गतेसम्म खुला रहनेछ।
आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले कम्पनीको गोरखास्थित कार्यालय, प्रभु क्यापिटलको कमलादी कार्यालय, कम्पनीद्वारा उपलब्ध गराइएको अनलाइन लिंक, प्रभु बैंकको छेपेटार शाखा (गोरखा) तथा पालुङटार शाखाबाट आवेदन दिन सक्नेछन्।
वैदेशिक रोजगारीमा रहेका नेपालीले भने धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका तोकिएका शाखा कार्यालय तथा ‘मेरो सेयर’ अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको सेयरको बाँडफाँटपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्नेछ। सर्वसाधारणका लागि छुट्याइएका सेयरमध्ये २ प्रतिशत कर्मचारीका लागि र ५ प्रतिशत सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी सेयर सार्वजनिक निष्कासन गरिनेछ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।
कम्पनीका अध्यक्ष डा. बसन्त गिरी रहेका छन्। संचालक समितिमा प्रदीप राज गिरी, नारायण कँडेल, दिपेन्द्र हमाल, प्रतिमा तिवारी र अशोक कुमार खड्का छन् भने डा. विनोद पोखरेल स्वतन्त्र संचालक रहेका छन्। कम्पनीमा सोपान मल्टिपल र मुक्तिनाथ क्यापिटलको समेत उल्लेख्य लगानी रहेको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij