Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक डा. बाबुराम भट्टराईले रवि लामिछानेलाई रिहा गर्ने अदालतको निर्णयको स्वागत गरेका छन् । उनले लामिछानेलाई रिहा गर्न गरिएको आदेश विधिको शासन, सहकारी पीडितको हित र राजनीतिक उपयुक्तता सबै हिसाबले स्वागतयोग्य रहेको प्रतिक्रिया दिएका छन् ।
यो आदेशले लामिछानेलाई विधिसम्मत् तरिकाले आफ्नो निष्ठा प्रमाणित गर्ने, जनताबीच गएर जनअनुमोदन प्राप्त गर्ने र सहकारी पीडितहरुले पनि आफ्नो गहिरो पीडाको सम्बोधन कानूनी रुपबाटै प्राप्त गर्ने मार्गप्रशस्त गरेको भट्टराईको दाबी छ । रवि भैरहवामा हिरासतमा हुँदा बाबुराम दुईपटक भेट्न पुगेका थिए ।
उनले फेसबुकमा लेखेका छन्–
रास्वपा सभापति रवि लामिछानेलाई अदालतद्वारा सशर्त धरौटीमा रिहा गर्ने गरी मुद्दा अघि बढाउन गरिएको निर्णय विधिको शासन, सहकारीपीडितको हित र राजनीतिक उपयुक्तता सबै हिसाबले स्वागतयोग्य छ । यसले वहाँलाई विधिसम्मत तरिकाले आफ्नो निष्ठा प्रमाणित गर्ने, जनतावीच गएर जनअनुमोदन प्राप्त गर्ने र सहकारी पीडितहरूले पनि आफ्नो गहीरो पीडाको सम्बोधन कानूनी रूपबाटै प्राप्त गर्ने मार्ग प्रशस्त गरेको छ। मैले गत बर्षदेखि नै यही कुरा पटकपटक भन्दै आएको हुँ । ( हेरौं, मैले गत बर्ष पोखराको प्रहरी हिरासतमा रविजीलाई भेटेर निस्केपछि मिडियासमक्ष व्यक्त गरेको विचार! )
लोकतन्त्रको सौन्दर्य यही हो । सबैले आत्मसात गरौं । तथ्यबाट सत्य खोजौं । कुनै उडन्ते अनुमानवाजी र ’षड्यन्त्त्रको सिद्धान्त’को पछि नलागौं । अनि बहुदलीय लोकतन्त्र भनेको दलहरू र व्यक्तिहरू वीच स्वस्थ प्रतिस्पर्धा र आवश्यक सहकार्यको फ्यूजन हो भन्ने नभुलौं । प्रतिस्पर्धा गर्दा दुश्मन जस्तो गर्ने र सहकार्य गर्दा आफ्ना फरक फरक वैचारिक–राजनीतिक आस्था र प्रतिबद्धता बिर्सने गल्ती नगरौं ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij