Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टचारविरुद्धको कारबाही नरोकिने बताएकी छन् । जेनजी आन्दोलनको मर्मअनुसार सरकारले काम गरिरहेको र निर्वाचनको तयारीसँगै भ्रष्टाचारविरुद्धको कारबाही पनि सँगसँगै अघि बढिरहेको उनले स्पष्ट पारेकी छन् ।
नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष सुदन किराँती नेतृत्वको प्रतिनिधिमण्डलसँगको आज सिंहदरबारमा भएको भेटका क्रममा प्रधानमन्त्री कार्कीले भनिन्- 'हामी काम गर्न नै आएको हो । जे सकेको गरिरहेका छौँ । युवाले बलिदानी दिएर गरेको विद्रोहको मर्मअनुरुप जसरी पनि हामीले काम गर्नु छ । यो वा त्यो बहाना गरेर पन्छिने छुट छैन। हामी रोकिँदैनौँ ।'
निर्वाचनको तयारी र सुशासनको जग बसाल्ने काम सँगसँगै गरिरहेको पनि उनले बताइन् । भ्रष्टाचारका विषयमा छानबिन गर्न राज्यका स्थापित संरचनाहरु नै धेरै रहेको अवस्थामा थप अर्को आयोग नबनाइएको पनि उनले प्रस्ट्याइन्।
उनले भनिन्- 'हामीकहाँ अख्तियार दुरुपयोग अनुसन्धान आयोग छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग छ। केन्द्रीय अनुन्धान ब्युरो छ। विगतमा ती निकायलाई प्रभावकारी रुपमा काम गर्न नदिइएको हुन सक्छ। दलीय प्रभाव परेको हुन सक्छ। हामी कुनै प्रकारको दबाब दिँदैनौँ। ती निकायले पूर्ण स्वतन्त्रताका साथ काम गरुन्। प्रभावकारी ढंगले चल्न सकून् । समानान्तररुपमा धेरै संरचना बनाएर मात्र पनि नतिजा आउने होइन। मूल कुरा काम गर्ने वातावरण दिनु अहिलेको आवश्यकता हो।'
अहिले अख्तियारले पनि आफ्नो रफ्तार बढाइरहेको उनले बताइन् । उनले भनिन्- 'तपाईँहरुले समाचारमा पढिरहनुभएकै होला। केही ठूला भ्रष्टाचारका विषय र प्रभावशाली व्यक्ति जोडिएका काण्डमा सम्बन्धित निकायहरुले कदम चालेका छन् ।'
सबै क्षेत्रको अति दलीयकरण हुँदा पनि मुलुकले प्रगति गर्न नसकेको टिप्पणी पनि उनले भनिन् । उनले भनिन् 'यहाँ किसानका नाममा पनि राजनीति भयो। किसानले मल पाउँदैनन् तर किसानको नेता देश-विदेश घुमिरहेको हुन्छ। मन्त्री-सांसद बनिरहेको हुन्छ। कार्यकर्ता अघिपछि लगाइरहेको हुन्छ। सहुलितको मल, बिउ, ऋणसमेत उसैले एकलौटी गरिरहेको हुन्छ। अरु व्यवसाय गर्नेहरुका नाममा पनि राजनीति भयो। आफ्नो पेसा-व्यवसाय गर्न छाडेर नेतागिरी गर्दै हिँड्ने प्रवृत्ति नै बनेको रहेछ। भ्रष्टाचारको जड यहाँ पनि छ। यस्तो वातावरणमा कसरी देशले उन्नति गर्छ?' यस्तो अवस्था अन्त्यका लागि नै युवाले आवाज उठाएको बताउँदै उनले आउँदो चुनावमा युवालाई नै संसदमा पठाएर परिवर्तन संस्थागत गर्नुपर्ने धारणा राखिन् ।
नेता किराँतीसहित प्रतिनिधिमण्डलका अन्य सदस्यले जेनजीका आवाज सम्बोधन चाँडो हुनुपर्ने माग गरेका थिए । उनीहरुले आन्दोलनकारी जेनजीमाथि एकातिर प्रहरीले धरपडक गरिरहेको र अर्कोतिर केही दलले घोषित रुपमै गुण्डा परिचालन गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए । यदि कुनै दलले घोषित रुपमै गुण्डागर्दी गर्न संगठन खोलेर अघि बढ्छ भने जेनजीले पनि प्रतिकार गर्नुपर्ने अवस्था आउन सक्छ भनी उनीहरुले चेतावनी दिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij