Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी सूचना अब सहज रूपमा फेसबुकमार्फत प्राप्त हुने भएको छ ।
यातायात व्यवस्था विभागले अनलाइन स्वचालित सूचना प्रणालीमा प्राविधिक समस्या देखिएपछि लाइसेन्स तयार भएको जानकारी आफ्नो आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गर्ने निर्णय गरेको छ ।
पहिले अत्यावश्यक लाइसेन्स छपाइका लागि अनलाइन फारम भरेका र एप्रुभ भएका आवेदकलाई ७२ घण्टाभित्र ‘नोटिफिकेसन’ पठाइन्थ्यो । तर हाल प्रणाली अवरुद्ध हुँदा विभागले नयाँ विकल्पका रूपमा हेलो यातायात व्यवस्था विभाग’ नामक फेसबुक पेजमा छपाइ सकिएका लाइसेन्सको नाम सूची नियमित रूपमा प्रकाशित गर्ने बताएको छ ।
विभागले फेसबुकमा नाम समावेश भएका सबै आवेदकलाई सक्कल राजस्व तिरेको रसिद लिएर विभागमा उपस्थित भई लाइसेन्स बुझ्न अनुरोध गरेको छ ।
यस्तै, लाइसेन्स नवीकरण वा नयाँ वर्ग थप गर्न चाहने सेवा-ग्राहीले अनिवार्य रूपमा आफ्नो पुरानो लाइसेन्स साथमा ल्याउनुपर्ने विभागले स्पष्ट पारेको छ । नयाँ व्यवस्थाले आवेदकलाई जानकारी छिटो र सजिलै पाउन मद्दत गर्ने विभागको अपेक्षा छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij