Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । सिद्धिचरण राजमार्गको स्तरोन्नति तत्काल थालिने भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले जानकारी दिनुभएको छ । राजमार्ग अन्तर्गतको उदयपुरको कटारी–घुर्मी सडकखण्ड संघर्ष समितिले आइतबार काठमाडौँमा बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले एक महिनाभित्र बहुवर्षीय ठेक्का लगाउने र काम अघि बढाउने जानकारी दिए ।
“आफू पनि यो सडक हिँडेको र समस्या बुझेको भन्नुहुँदै तत्काल सडक स्तरोन्नतिको काम अघि बढाउन निर्देशन दिनुभयो ।” समितिका संयोजक लीलाबहादुर खत्रीले भने, “उहाँका स्वकीयहरूलाई पनि यो सडकको समस्या थाहा रहेछ । यहाँका जनता पीडित नै छन् भनेपछि ठेक्का प्रक्रिया अघि बढाउँछौँ भन्नुभयो ।”
यस सडकखण्ड निर्माणका लागि चार अर्ब १२ करोड रुपैयाँ बजेट रहेको जनाइएको छ। राजमार्गको कटारी–घुर्मी ४७ किमि सडकको अवस्था जीर्ण छ । आउजाउमै समस्या भएपछि यसअघि समितिले सडकसमेत अवरुद्ध गरेको थियो । सडक आसपासका स्थानीय धुलोले आजित भएका थिए ।
तीन दशकअघि निर्माण गरिएको यो सडक जीर्ण हुँदा पहाडी जिल्ला ओखलढुंगा, सोलुखुम्बु, खोटाङवासीसमेत समस्या परेका छन्। तराईबाट पहाड प्रवेश गर्ने पहिलो र छोटो नाकाको स्तरोउन्नति नहुँदा वर्षौंदेखि जोखिम मोलेर आवतजावत गर्नुपर्ने बाध्यता छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij