Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । सभामुख देवराज घिमिरेले नेपाली जनताले संविधानविरोधी गतिविधिलाई समयमा नै बुझ्न सकेमात्रै संविधानको रक्षा र विधिको शासनको प्रवर्द्धन हुने बताएका छन् ।
संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा बधाई तथा शुभकामना व्यक्त गर्दै सभामुख घिमिरेले संविधान घोषणाको एक दशक पुग्न १० दिन बाँकी रहँदा नै गत भदौ २३ र २४ गते भएको जेनजी पुस्ताले गरेको आन्दोलनले मुलतः समाज र राष्ट्रलाई नयाँ सोचका साथै पारदर्शिता र सुशासन दिनुपर्ने महत्त्वपूर्ण चेतना दिएको उल्लेख गरेका छन् ।
उनले भ्रष्टाचार र कुशासन अन्त्यको माग अघि सारेका निर्दोष युवाहरूको विरोधलाई देखाएर देशमा असामान्य स्थितिको सृजना गरिएको र जननिर्वाचित सर्वोच्च विधायिकी संस्थालाई विघटन गर्ने गैरसंवैधानिक कार्य भएको उल्लेख गरेका छन्।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मार्गचित्रलाई कार्यान्वयन गर्दै सङ्घ, प्रदेश र स्थानीय तहमा निर्वाचन सम्पन्न भई जनप्रतिनिधिहरूको सहभागितामा सरकार सञ्चालनको नयाँ प्रणाली अगाडि बढेको र अधिकार प्रत्यायोजनसहित स्थानीय तहलाई सबल बनाउँदै सेवा प्रवाह नागरिकको ढोकाढोकामा पुग्ने वातावरण बनेको उनको भनाइ छ।
सभामुख घिमिरेले विगतमा पनि नेपाली जनताबाट खोसिएको अधिकार संसद्मार्फत नै पुनर्थापित गरेको तर्फ स्मरण गराउँदै लोकतान्त्रिक शासन प्रणालीको विकल्प अझ उन्नत लोकतन्त्रमात्र हुनेतर्फ ध्यानाकर्षण पनि गराएका छन् ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गरेका थिए । संविधान निर्माण भएर कार्यान्वयनमा आएको १० वर्ष पूरा भएको छ ।
सङ्घीयता, धर्म निरपेक्षता, समाजवादोन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालगायतका नयाँ व्यवस्था राखिएको यो संविधान जारी हुँदा संविधानसभाको प्रक्रियामा सहभागी दलका पाँच सय ३७ जना सभासद्ले हस्ताक्षर गरेका थिए । ‘नेपालको संविधान, २०७२’ मा ३५ भाग ३०८ धारा र ९ अनुसूची रहेका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij