काठमाडौं । बक्सिङ खेलका पूर्वविश्व विजेता रिकी ह्याटनको ४६ वर्षको उमेरमा निधन भएको छ ।
ह्याटन उत्तरपश्चिम इङ्गल्याण्डको हाइडमा आफ्नो घरमा मृत फेला परेका हुन् । ग्रेटर म्यानचेस्टर प्रहरीका अनुसार उनको मृत्युलाई शङ्कास्पद रूपमा नलिएको बताएका छन् ।
“स्थानीय जनप्रतिनिधिले प्रशासनलाई आइतबार बिहान ६ः४५ बजे दिएको सूचनामा ४६ वर्षीय ह्याटन हाइडस्थित आफ्नै घरमा टेमसाइडमा मृत भेटिएको खबर गरेको र तत्काल प्रहरी त्यहाँ पुगेको थियो,” स्थानीय प्रहरी प्रवक्ताले भने ।
“उहाँको मृत्युबारे प्रारम्भिक अनुसन्धानले उहाँको कुनै पनि शङकास्पद आक्रमण वा गतिविधिका कारण भएको विश्वास गरिएको छैन,” प्रहरीले भनेको छ ।
‘द हिटम्यान’ उपनामले चिनिने ह्याटनले ‘लाइटवेल्टर वेट’ समूहमा धेरै विश्व उपाधि र ‘वेल्टर वेट’ मा एउटा उपाधि जितेका थिए । उनको आक्रामक शैलीले आफ्नो पुस्ताको सबैभन्दा लोकप्रिय बेलायती बक्सरहरूमध्ये एक बनाउन सफल भएको थियो ।
सन् १९९७ मा आफ्नो बक्सिङ खेलको सार्वजनिक सुरूवात गरेका उनले ४८ व्यावसायिक प्रतिस्पर्धातर्फ ४५ उपाधि जितेका थिए ।


