
Sep 07 2025 | २०८२, भदौ २२ गते
काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सामाजिक सञ्जाल बन्द गरेर मात्र समस्या समाधान नहुने बताएका छन् । आइतबार पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सामाजिक सञ्जाललाई दुरुपयोग रोक्ने उपाय खोज्नुपर्ने तर पूर्ण बन्द समाधान नहुने बताए ।
उनले सामाजिक सञ्जाललाई नेपाली जनताको दुःखसुखको साथीको रूपमा व्याख्या गर्दै बिरामी पर्दा सहयोग पाउने, विपद् सूचना सम्प्रेषणमा योगदान दिने र सामाजिक अभियानमा उपयोगी रहेको स्मरण गराए । ‘सामाजिक सञ्जाल राजनीतिक मात्र होइन, जनजीवनसँग प्रत्यक्ष जोडिएको सशक्त माध्यम हो, ‘उनले भने ।
केसीले अभिव्यक्ति स्वतन्त्रतामा कुण्ठा ल्याउने प्रयासप्रति आपत्ति जनाउँदै कांग्रेस ‘मुकदर्शक’ बन्न नहुने धारणा राखे । उनले नेपालमा दर्ता प्रक्रियालाई अटेर नगरी संवादमार्फत समाधान खोज्न सरकारसँग आग्रह गरे ।
उनका अनुसार, सामाजिक सञ्जाल बन्द गरिएकामा आम नागरिक रुष्ट भएका छन् र यसले असन्तुष्टि बढाएको छ। ‘समस्या छिटो समाधान गरेर नागरिकलाई सहज बनाउनुपर्छ, ‘उनले जोड दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij