Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनलाइनमार्फत सरकारी सेवा उपलब्ध गराउन सुरु गरेको छ ।
विभागले नेपालस फूड एण्ड फिड इन्डस्ट्रि लाइसेन्सिंग सिस्टममार्फत खाद्य उद्योग दर्ताको सिफारिस, अनुमतिपत्र जारी तथा नवीकरण सेवा सुरु गरेको हो । महानिर्देशक संजीवकुमार कर्णको अध्यक्षतामा मंगलबार विभागमा आयोजित अभिमुखीकरण तथा तालिम कार्यक्रममा काठमाण्डौं उपत्यका र काभ्रेपलान्चोकका ७० भन्दा बढी उद्योगी व्यवसायी सहभागी भएका थिए । कार्यक्रममा उद्योगीहरुलाई अनलाइनमार्फत सेवा लिन आवश्यक प्रक्रिया र सुविधाबारे जानकारी दिइएको थियो ।
नयाँ प्रणालीमार्फत आवेदन, कागजात अपलोड, अनुमतिपत्र जारी तथा नवीकरण सबै प्रक्रिया अनलाइनमै हुनेछन् । यसले पेपरलेस र फेसलेस सेवामा योगदान पु¥याउने विभागका प्रवक्ता मोहन कृष्ण महर्जनले जानकारी दिए । उनका अनुसार हाल काठमाडौं र हेटौंडास्थित कार्यालयमार्फत सेवा सुरु भए पनि निकट भविष्यमा सबै कार्यालयमा विस्तार गरिनेछ ।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा २६ (ठ) बमोजिम विभागले प्रवाह गर्ने सेवा प्रभावकारी ढङ्गले प्रवाह गर्न आवश्यकता अनुसार विद्युतीय प्रणाली विकास गरी प्रयोगमा ल्याउने व्यवस्था भएकोले सो ऐनको दफा ८ बमोजिम खाद्य उद्योग दर्ताको सिफारिस, दफा ९ बमोजिम खाद्य उद्योगले अनुमतिपत्र तथा दफा १० बमोजिम खाद्य उद्योगको अनुमतिपत्र मान्य अवधि र नवीकरण लगायतको सेवा प्राप्त हुनेछ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij