
Sep 01 2025 | २०८२, भदौ १६ गते
विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा आर्थिक वर्ष २०८२÷८३ का लागि वार्षिक कार्यसम्पादन सम्झौता औपचारिक रूपमा सम्पन्न भएको छ।
सम्झौतामा प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापा र कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) ईश्वर कार्कीले हस्ताक्षर गरेका छन्। चालु वर्षका प्रमुख लक्ष्य, कार्ययोजना र सेवा प्रवाह सुधारका विषय सम्झौतामा समावेश गरिएको छ ।
डीआईजी कार्कीको नेतृत्वमा प्रदेशका १४ वटै जिल्ला प्रहरी प्रमुख, प्रदेश प्रहरी तालिम केन्द्र, प्रदेश सशस्त्र प्रहरी गण रानी, नेपाल प्रहरी प्रदेश अस्पताल इनरुवा, विपद् व्यवस्थापन गुल्म चन्द्रगढी र नेपाल पुलिस स्कुल धरानका प्रमुखहरूले समेत सम्झौतामा हस्ताक्षर गरेका छन् ।
कार्यक्रममा सहभागी प्रहरी प्रमुखहरूले प्रहरी सेवालाई थप प्रभावकारी, पारदर्शी र परिणाममुखी बनाउन प्रतिबद्धता जनाउँदै आफ्ना क्षेत्रमा वार्षिक लक्ष्य तय गरी समयमै कार्यान्वयन गर्ने अठोट व्यक्त गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै डीआईजी कार्कीले कार्यसम्पादन सम्झौता केवल कागजी औपचारिकता नभई प्रहरी सेवामा चुस्तदुरुस्त र आम नागरिकले प्रत्यक्ष अनुभूति गर्ने सुधार ल्याउने महत्वपूर्ण माध्यम भएको बताए । उनले योजनाबद्ध ढंगले कार्यान्वयन गर्न निर्देशन दिँदै सम्झौता सफल हुने विश्वास व्यक्त गरे ।
सम्झौताअनुसार जिल्ला प्रहरी कार्यालय र अन्य सम्बन्धित निकायहरूले आफ्नो कामको प्रगति विवरण त्रैमासिक, अर्धवार्षिक र वार्षिक रूपमा प्रदेश प्रहरी कार्यालयमा बुझाउने व्यवस्था गरिएको छ ।
हस्ताक्षर कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक पोखरेलसहित कोशी प्रदेश प्रहरी कार्यालयका अन्य अधिकारीहरूको पनि उपस्थिति थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij