
Sep 01 2025 | २०८२, भदौ १६ गते
काठमाडौं । मिर्गौला तस्करीका मास्टरमाइन्ड मानिने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले ती व्यक्तिलाई शनिवार पक्राउ गरेको हो ।
ब्युरोको वरिष्ठ प्रहरी अधिकारीको टोली भारतसम्म पुगेर तस्करीका मास्टरमाइन्ड र अर्का एक व्यक्तिलाई पक्राउ गरी नेपाल ल्याएको हो । प्रहरीले भने नेपाल भारत सीमाको गड्का चौकी नाकाबाट पक्राउ गरेको दाबी गरेको छ ।
ब्युरोले पक्राउ परेका व्यक्तिको विवरण खुलाएको छैन । यद्यपि पक्राउ गरेका व्यक्तिले ५० जनाभन्दा बढीको मिर्गौला तस्करी गरेको पाइएको छ । सो सम्बन्धमा केही समयपछि पत्रकार सम्मेलन गरी जानकारी दिने तयारी गरिएको छ ।
केही समय अगाडि पोखराबाट एक व्यक्तिलाई अपहरण गरी भारत पुराएर मिर्गौला तस्करी गरिएको खुलासा भएको थियो । सोही सम्बन्धमा अनुसन्धान गर्दै जाँदा ‘किड्नी किङ’ भनिने मास्टरमाइन्डसम्म प्रहरी पुग्न सफल भएको हो ।
मानव अंग तस्करीका सम्बन्धमा ब्युरोले गरेको यो अपरेसनले मानव अंग तस्करी नियन्त्रण गर्न ठुलो सहयोग पुग्ने र उनी पक्राउ परे लगत्तै अन्य व्यक्तिको संलग्नता पनि खुल्ने अपेक्षा गरिएको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij