
Aug 18 2025 | २०८२, भदौ २ गते
आजको राशिफल बि.सं.२०८२ भदौ ०२ गते सोमबार ई.सं. २०२५ अगस्त १८ नेपाल सम्बत ११४५ गुंलागा आमै, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, बर्षा ऋतु, भदौ कृष्ण दशमी , चन्द्रमा वृष राशिमा, मृगशिरा नक्षत्र, हर्षण योग, वणिज करण । आज नेपालमा सुर्योदय बिहान ०५ बजेर ३६ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०६ बजेर ४१ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा वृष राशीको हुनेछ ।
आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कन शरीर ऐनामा हेरेर जुनसुके दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि अमृत समय बिहान ०५ बजेर ३६ मिनेट देखि ०७ बजेर १३ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
कतिपय आर्थिक समस्या सञ्चारसम्पर्कबाट नै हल गर्न सकिने छ । सञ्चार क्षेत्र, वित्तीय कारोवार, यातायात, ढुवानी र मार्केटिङको व्यवसायमा विशेष लाभ देखिन्छ । पारिवारिक जीवन र दैनिकीका दृष्टिले राम्रै दिन छ, माइतीपक्षसित भेटघाट हुने वा सम्बन्ध/सम्पर्क बढ्ने तथा सरसहयोग लिन/दिन सकिने समय हो । खेलकुद वा शारीरिक तन्दुरुस्तीसम्बन्धी विषयमा रुचि जाग्नेछ, नजानेको कुनै कुरा छ भने पनि मित्र र शुभचिन्तकको साथ/सहयोग प्राप्त हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सञ्चार वा नेटवर्किङका विभिन्न माध्यमले अल्मल्याउन सक्छन् । पराईसँग व्यवहार गर्दा शब्दहरूको चयन र प्रस्तुतिमा ध्यान दिनुहोला । धनको सहजता देखिए पनि खर्च गर्नुपर्दा होस राखेर चल्नुपर्ने समय छ । मुखका माध्यमले नै महत्त्वपूर्ण काम बन्नसक्ने राम्रो समय छ, सिनियर कर्मचारी वा वरिष्ठ कर्मचारीलाई खुसी पारेर आफ्नो स्वार्थ पूरा गर्न सकिन्छ । मनले चाहेको व्यक्तिबाट कुनै नौलो कुरा सुन्न पाउँदा अझ हर्षित हुने वा कुनै उपहार प्राप्त गरेर दङ्गपर्ने समय हो ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
असम्भव आशामा वा जोखिममूलक काममा धन लगानी गर्नु हुँदैन । उता घर/परिवारको बारम्बार याद आउनाले मानसिक तनावसमेत बढ्नसक्छ । परिवारमा सुखसुविधाको जोहो गर्ने समय हो, फुटकर सामाग्रीका विक्रेता र खाद्यसामाग्रीको कारोबार छ भने अझ राम्रो गर्न सकिने छ । दैनिक जीवन सहजताका साथमा बिते पनि कुनै कारणवश पतिपत्नीमा विचार नमिल्न सक्छ, तथापि समर्पण भाव र मायाप्रीति कायम नै रहने देखिन्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सोच्दै नसोचेको विषय वा क्षेत्रमा मन केन्द्रित हुनेछ । पढाइ छाड्ने वा फ्याकल्टी नै फेर्ने नकारात्मक सोचसमेत पलाउन सक्छ । धनको मामिलामा उदासीन बन्नुहुँदैन, त्यस्तै कुनै पनि ठूला निर्णयहरू लिनुहुँदैन । कुनै काम गर्ने हो भने केही समय योजना बनाउनुहोस्, अनुभवी र सिनियर्सको सुझाव ग्रहण गर्नुहोस्, अनिमात्र काम थाल्नुहोस् । विवादास्पद निर्णयमा सरिक हुनुपर्ने समय छ, व्यर्थैमा अरुको स्वार्थका लागि खट्नुपर्ने हुन्छ, तापनि सुखदुःखमा साथ दिनेहरू फेलापर्ने दिन हो ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सबै कार्य योजनानुसार सम्पन्न हुँदै जानेछन्, आपसी समन्वय र आन्तरिक सुख बढ्ने समय छ, पार्टनरसँग सानोतिनो यात्राको कार्यक्रम बन्नसक्छ । मित्र र सहयोगीहरूबाट लाभ मिल्नेछ । बहुप्रतीक्षित इच्छा र आकाङ्क्षाले पूर्णता पाउनेछन् र लामो दूरीको यात्रा लाभदायक रहनेछ । सरकारी कामका माध्यमबाट धनार्जन गर्न सकिने छ, कुनै प्रतिष्ठान वा कार्यालयको बाँकीबक्यौता उठाउनु छ भने प्रयास गर्नुहोला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सरकारी कामका माध्यमबाट फाइदा हुनेछ । विपरीत परिस्थितिलाई कुशलतापूर्वक झेल्नाले आत्मविश्वास बढ्नेछ । शत्रुले हानि पुर्याउन सक्दैनन् । सामाजिक र राजनैतिक हैसियत निर्माणका दिशामा केही लगानी गर्नुपर्ने हुन्छ । प्रशासनिक वा सरकारसम्बद्ध कुनै काम सुल्झाउन उपयोगी समय छ । आपसी सम्बन्धमा नयाँ मिठास देखापर्न सक्छ, घरपरिवारले आफ्ना समस्या बुझ्ने तथा बृद्धबृद्धासमेत खुसी भएर आशीर्वाद दिने समय हो ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
शान्त र स्थिर मतिको उदय हुनेछ, परोपकारी समय हो, प्रेम र भाइचारालाई समेत जीवन्त तुल्याउन सकिने छ । ठूलाबडाको सहयोग लिन सके नबन्ने काम पनि बन्नसक्छ । क्षमता प्रदर्शन गरी अरुमाथि छाप छोड्ने समय हो । कार्य सम्पादनका माध्यमबाट सिनियरलाई समेत आकर्षित तुल्याउन सकिने छ । शरीर हलुका र मन प्रसन्न रहनेछ, लामो समयदेखि एकान्तमा बसेर भलाकुसारी भएको छैन भने अब निराश हुनुपर्दैन, भेटघाटको अनुकूलता मिल्नेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
चुनौतीका बीचमा सम्भावनाका बाटाहरू फेला पर्नेछन् । नयाँ काम गर्नु छ भने कानूनी पाटो ख्याल गरी सुरु गर्नु उचित हुनेछ । पारिवारिक वातावरण सामान्य रहने छ, घरायसी प्रबन्ध वा बन्दोबस्तीमा व्यस्त भइने छ । भावना र इच्छाहरूको कदर हुँदैन र मन अशान्त बन्नसक्छ । मनोरञ्जनमा केन्द्रित भइदिनाले पढाइ बिथोलिने दिन हो, सानो लापरबाहीले पनि भविष्य बिग्रन्छ भन्ने बुझेर थप मिहिनेत गर्नुपर्ने समय छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर कुनै काम निकाल्नु छ भने प्रयास गर्ने दिन हो । नयाँ साथी बनाउन पाइने तथा नौलो विषयको जानकारी बटुल्ने दिन हो, मित्रवर्ग र सँगीसाथीको सहयोगमा नजानेको कुनै विषयको ज्ञानसमेत पाउन सकिन्छ । सबैको सहयोग प्राप्त हुनाले ताकेको कामबाट छिट्टै फुर्सद पाइने छ र नयाँ काममा हात हाल्ने मानसिकतासमेत बन्नसक्छ । यो रचनात्मक उर्जाले भरिपूर्ण समय हो, प्रियजनसँगको भेटघाटले वातावरण रमाइलो बन्नेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
हाकिम वा सेवाग्राहीको रिसको चक्रमा पर्न सकिन्छ, समस्या देखिएमा कलह वा विवादलाई होइन, बुद्धिकौशलको उपयोग गरी मिलनसार बनिदिनु राम्रो हुन्छ । आडम्बर देखाउनु हुँदैन, नत्र सामान्य मानेको विषयलाई प्रमाणित गर्न गाह्रो हुन्छ र बेकारको तर्कबितर्कमा दिन बित्ने परिस्थिति बन्नेछ । व्यक्तिगत स्वास्थ्यमा मौसमी प्रभाव पर्ने दिन हो । बेकारको बहस र विवादमा सहभागी बन्ने समय छ, आफन्तले नै तनाव सिर्जना गर्न सक्छन् ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
थोरै मिहिनेत गर्दासमेत ठूलो सफलता पाउने समय हो, ज्ञान बढाउने प्रयास गर्नुहोस्, तारिफयोग्य काम गर्दै भविष्य सुधार्ने मौका पाइने छ । मनको कुरो साथीले बुझिदिंदा आपसी सम्बन्धमा विश्वास र भरोसाको वातावरण बन्नेछ, एकान्तमा रमाउँदै भावना आदानप्रदान हुने समय हो । मानसिक रूपमा कमजोर समय छ, मित्र र सहयोगीहरूले पनि साथ दिन पाउने छैनन् । काम र यात्राबाट थकानको महसुस हुनसक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कुरा काट्नेहरूको सक्रियता बढ्न सक्छ, दिमाग भारी हुनसक्छ, तथापि बुढाबुढी वा परपाहुनाको सेवा र हेरचाह गर्नुपर्ने दिन हो । सोच्ने शक्ति र निर्णयात्मक क्षमतामा कमी आउने दिन हो । आज हरेक कुरामा यो गरौं कि त्यो गरौं भन्ने अलमल हुनसक्छ । आवेगहरूमा नियन्त्रण गर्न नसक्नाले निराशा र खिन्नताको अनुभूति हुनसक्छ, अतः आफ्ना लागि समय प्रदान गर्नु र चिन्तन गरी वर्तमान समस्याको हल गर्ने प्रयास गर्नु उपयोगी हुनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij