
Aug 07 2025 | २०८२, साउन २२ गते
ललितपुर । बैंकिङ्ग कसुर मुद्दामा अदालतबाट दोषी ठहर भई लामो समयदेखि फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लुभु घर भई हाल काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीमा बसोबास गर्दै आएका ६० वर्षीय जनक राउत रहेका छन् ।
जनक राउतमाथि शोभा डिसीले दायर गरेको जाहेरीका आधारमा उच्च अदालत पाटनले २०७५ साल असार २४ गतेको फैसलामा २५ लाख रुपैयाँ बिगो भराउनुपर्ने, सो बराबर जरिवाना तिर्नुपर्ने र १ महिनाको कैद सजाय सुनाएको थियो ।
उक्त फैसलाविरुद्ध राउतले पुनरावेदन गरे पनि सर्वोच्च अदालतले २०८१ असार २४ गते उच्च अदालतको फैसला सदर गर्दै उनलाई दोषी ठहर गरेको थियो । सर्वोच्चको फैसला आएपछि फरार रहेका राउतलाई प्रहरीले २०८२ साउन १६ गते काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ स्थित बिपी चोकबाट पक्राउ गरेको जनाएको छ । पक्राउपछि उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुर पठाइएको छ ।
अदालतको फैसला कार्यान्वयनमा प्रहरी सक्रिय पछिल्लो समय फरार अभियुक्तहरूको खोजी र फैसला कार्यान्वयनमा प्रहरीले सक्रियता बढाएको छ । बैंकिङ्ग, ठगी तथा आर्थिक अपराधसम्बन्धी मुद्दामा दोषी ठहर भए पनि अदालतको फैसला नमान्ने र कानूनी प्रक्रिया टार्न खोज्नेहरूलाई प्रहरीले एकपछि अर्को गर्दै पक्राउ गर्न थालेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij