
Jul 26 2025 | २०८२, साउन १० गते
काठमाडौं । कुलिङ अफ पिरियडको प्रावधानका सम्बन्धमा गडबडी भएको भन्ने सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिको म्याद ७ दिन थप गरिएको छ ।
आज शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले म्याद थपसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए । उनले सो प्रस्ताव स्वीकृत भएको पनि घोषणा गरेका थिए ।
गत असार २३ गते प्रतिनिधि सभाले निजामती सेवा विधेयकमा व्यवस्था भएको कुलिङ पिरियडबारे हेरफेरका सन्दर्भलाई लिएर संसदीय छानबिन समिति गठन गरेको थियो । समिति गठन हुँदा सभामुख देवराज घिमिरेले २१ दिनको समय दिएका थिए । सो समय पर्सि साउन ११ गते सकिँदै थियो । प्रतिनिधिसभाले समय अगावै ७ दिन थपेर साउन १९ गतेसम्मका लागि म्याद थप गरेको हो ।
नेपाली कांग्रेसका सांसद जीवन परियार सभापति रहेको समितिमा कांग्रेसकै सुशीला थिङ, नेकपा (एमाले) बाट ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य, नेकपा माओवादी केन्द्रबाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की सदस्य छन् ।
प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले सरकारी कर्मचारीका लागि राजीनामा वा अवकाशपछि २ वर्ष कुलिङ पिरियड लागु हुने गरी विधेयक पारित गरेकोमा विधेयकमा कुलिङ पिरियडको प्रावधान नै निष्क्रिय हुने भाषा समेत परेपछि समिति गठन गरेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij