Logo

Jul 26 2025 | २०८२, साउन १० गते

Jul 26 2025 | २०८२, साउन १० गते

समाचार बुलेटिन

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

  • काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

    images
    images
    images

    १.सत्तारुढ दल नेकपा एमाले र नेपाली काँग्रेसबीच विवाद भएको भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक अन्तत: संसदीय समितिमा पुगेको छ । नेकपा एमालेले यस विधेयकलाई फास्ट ट्रयाकमा पास गर्ने योजना बनाएको भएपनि सत्ताघटक नेपाली काँग्रेस तयार नभएपछि दफाबार छलफलका लागि समितिमा पठाइएको छ  । बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले यस विधेयकलाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस् भन्ने प्रस्ताव प्रस्तुत गरे र यो प्रस्ताव सर्वसम्मत रुपमा स्वीकृत भयो । यो सँगै भूमि विधेयक संसदीय समितिमा पुगेको छ । अब यो विधेयक प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा छलफल हुने छ ।

    images

    २.बाजुराको हिमाली गाउपालिका ५ क्यूडीको तुनीगडा जीप दुर्घटनाका घाईतेको हेलिकप्टर मार्फत उद्धार गरिएको छ। बाजुराको क्यूडीबाट धुलाचौरका लागि छुटेको बा ०३००१ ज ०३३८ नम्वरको जीप दुर्घटना हुदा ३ जनाको घटना स्थलमै मृत्यू भएको छ भने १६ जना घाईते भएका छन् । घाईतेको उद्धार स्थानीय सडकबाट असम्भब भएपछि हेलिकप्टर मार्फत उद्धार गरेर कर्णाली प्रदेशको प्रादेशिक अस्पताल सुर्खेत लगिएको छ ।

    ३.नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठक बोलाएका छन् । सभापति देउवाले शुक्रबार विहान ९ बजे बुढानीलकण्ठस्थित आफ्नै निवासमा बस्ने गरी पदाधिकारी बैठक बोलाएका हुन्। बैठकमा सरकारमा सामेल रहेका मन्त्रीहरुपनि सहभागी हुने बताइएको छ । बैठकमा समसामयिक राजनीति र सरकारका कामको विषयमा छलफल हुने एजेण्डा रहेको छ ।

    ४.नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले त्रिभुवन विश्वविद्यालय किन सधै बन्द हुन्छ भन्दै सरकारलाई प्रश्न गरेका छन्। प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद भण्डारीले त्रिभुवन विश्वविद्यालय किन सधै बन्द हुन्छ भन्दै सरकारले किन यसलाई नियमित संचालन गर्न सक्दैन भन्दै प्रश्न उठाएका हुन् ।

    images

    ५.नेकपा एकीकृत समाजवादीका सांसद कृष्ण बहादुर श्रेष्ठले विपद घोषणा गरेर मात्र मधेशका समस्या समाधान नहुने बताएका छन् । प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै खानेपानीमा मन्त्रीहरुले राजनीति गरिरहेको भन्दै विपद घोषणा गरेपनि सरकारले आवश्यक काम नगरेको आरोप लगाएका छन् । सांसद श्रेष्ठले नेपाली सेनाले ८ वटा दमकलले वितरण गरिरहेको खानेपानी मन्त्रीको पर्सा जिल्लामा मात्र गरिरहेको आरोप लगाउदै बाँकी ७ जिल्लाका जनताले खानेपानी नपाएको बताए । उनले सरकारले गर्नैपर्ने न्युनतम काम समेत नगर्दा अहिले मधेशका जनताले सास्ती बेहोर्नुपरिरहेको भन्दै तत्काल मधेशका सबै जिल्लामा खानेपानीको व्यवस्था गर्न माग गरेका छन् । 

    ६.राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले आज पनि प्रतिनिधि सभाको बैठक बहिस्कार गरेका छन् । प्रतिनिधि सभाको बैठकमा रास्वपाकी सांसद डा. तोसिमा कार्की र राप्रपाका सांसद दिपक बहादुर सिंहले आफ्नो धारणा राखेपछि आजको बैठक बहिष्कार गरेका हुन् । रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा आफुहरुको विरोध जारी रहेको बताउदै उनीहरुले छानबिनका लागि उच्चस्तरीय आयोग बनाउनुपर्ने माग राख्दै आएका छन् । दुवै दलले भिजिट भिसा प्रकरणमा गत जेठ १३ गतेदेखि नै संसदमा विरोध गर्दै आएका छन् ।

    ७.नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले पुर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमाले प्रवेशमा लगाइएको प्रतिबन्ध मौलिक हक विपरित भएकोले  प्रथम दृष्टिमै बदर योग्य भएको टिप्पणी गरेका छन् ।  गुरुङले एमालेको निर्णय संबिधानको धारा १७ विपरित भएको भन्दै पुर्वराष्ट्रपतिलाई पनि नेपालको सँबिधानले नागरिकको रुपमा चिन्ने बताएका छन् ।  

    ८.भक्तपुरको सिन्टीटारमा दुई किशोरी मृत अवस्थामा फेला परेका छन् । मध्यपुर थिमि नगरपालिका–९ स्थित सिन्टीटारमा घरको भुइँ तलामा डेरा गरी बस्दै आएका सुर्खेत पञ्चपुरी नगरपालिका–८ की १७ वर्षीया मेनुका कँडेल र १५ वर्षीया सिर्जना कँडेल मृत्य अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । उनीहरु दिदीबहिनी भएको बताइएको छ ।  उनीहरू सोही घरको प्यासेजमा एउटै डोरीमा झुन्डिएरको अवस्थामा फेला परेका छन् । उनीहरु दुई साताअघिमात्र डेरामा बस्न आएको घरधनीले जानकारी दिएका छन् । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको र भारतको मुम्बईमा रहेका अभिभावकलाई खबर गरेको जनाएको छ ।

    ९.नेप्से परिसूचकमा सामान्य वृद्धि भएको छ । आज नेप्से ३.७६ अंकले बढेर २९८२.६४ विन्दुमा रोकिएको छ ।  आजको कारोबारमा विभिन्न ३२८ कम्पनीका ३ करोड ८९ लाख ६२ हजार ५०८ कित्ता शेयर १८ अर्ब ४९ करोड ४ लाख २८ हजार ७९४ मा किनबेच भएको नेप्सेले जनाएको छ ।

    १०.नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुनको मूल्य तोलामा २४ सयले घटेर तोलाको एक लाख ९५ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको एक लाख ९७ हजार ६ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १५ रुपैयाँले घटेर २३३५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको २३५० मा कारोबार भएको थियो । 

    ११.प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्ष निर्यातमा इतिहासकै उच्च बिन्दु हासिल गरेको बताएका छन् । बिहीबार सामजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओलीले २ खर्ब ७७ अर्ब ३ करोड २ लाखको निर्यात गर्न सफल भएको उल्लेख गर्दै यो निर्यात इतिहासकै उच्च भएको बताएका छन् । उनले भनेका छन्-  यस वर्ष निर्यातमा इतिहासकै उच्च बिन्दु हासिल भएको छ। २ खर्ब ७७ अर्ब ३ करोड २ लाख रुपैयाँको निर्यात गर्न हामी सफल भएका छौं। हामी सरकारमा आउनु भन्दा अगाडि अघिल्लो वर्ष १ खर्ब ५२ अर्ब ३८ करोड १२ लाख रुपैयाँको निर्यात भएको थियो । गत वर्षको तुलनामा ८१.८० प्रतिशत निर्यात बढेको छ ।

    १२.अभिनेता अनमोल केसी र जसिता गुरुङको फिल्म ‘जेरी अन टप’को प्रदर्शन मिति घोषणा गर्दै फर्स्टलूक पोस्टर सार्बजनिक गरिएको छ । विहिबार फिल्मका निर्माताले फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै फिल्म असोज ३१ गते रिलिज हुने जानकारी दिइएको छ । सगरमाथा क्षेत्र, मुस्ताङ र काठमाडौंमा छायांकन गरिएको फिल्मको कथा पदयात्राको क्रममा हुने प्रेमको बारेमा रहेको अनुमान पोस्टरबाट गर्न सकिन्छ ।

    १३.माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कास्की जिल्लाको माछापुच्रे गाउँपालिका धितालमा प्रस्तावित एन्फा टेक्निकल सेन्टर निर्माणको काम अगाडि बढ्नुपर्छ भन्नेमा आफु रहेको बताएका छन् । आज धितालस्थित भेडाबारीका स्थानीय जग्गादाता, विभिन्न राजनीतिक दलका प्रतिनिधि र जनप्रतिनिधिहरूको टोलीले एन्फा टेक्निकल सेन्टर निर्माण प्रक्रिया अघि नबढेको भन्दै प्रचण्डलाई भेट गरी पहल गरिदिन अनुरोध गरे ।

    १४.स्पेन जारी महिला युरो कपको फाइनलमा पुगेको छ । गएराती सम्पन्न दोस्रो सेमिफाइनलमा जर्मनीलाई १-० गोल अन्तरले पराजित गर्दै स्पेन फाइनलमा पुगेको हो । स्पेनको जितमा खेलको ११३औं मिनेटमा आइटाना बोनमाटी गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो । यस अघि निर्धारित ९० मिनेटको खेलमा दुवै देशबाट कुनासी गोल नभएपछि खेल ३० मिनेटको अतिरिक्त समय खेलाइएको थियो । अब स्पेनले फाइनलमा इङल्याण्डको सामना गर्ने छ। इङल्याण्डले पहिलो सेमिफाइनलमा इटालीलाई पराजित गर्दै फाइनलमा पुगेको छ । अब फाइनल खेल जुलाई २७ मा हुने हुने छ ।   

    १५.भारतले बंगलादेशमा भएको विमान दुर्घटनामा घाइते भएकाहरूको उपचार गर्न एक चिकित्सा टोली पठाएको छ । विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालका अनुसार, यस चिकित्सा टोलीमा दिल्लीको राम मनोहर लोहिया अस्पताल र सफदरजंग अस्पतालका दुई विशेषज्ञ र एक नर्सिङ सहायक समावेश छन् । बंगलादेश वायुसेनाको एफ-७ बिजीआई प्रशिक्षण विमान सोमबार दिउँसो राजधानी ढाकाको दियाबारी क्षेत्रमा अवस्थित माइलस्टोन स्कूल एण्ड कलेज क्याम्पस भवनमा खसेको थियो । यस दुर्घटनामा हालसम्म २९ जनाको मृत्यु भएको र १०० भन्दा बढी घाइते भएका छन् ।

    १६.रूसको सुदूर पूर्वी अमुर ओब्लास्टमा सम्पर्कविहीन भएको यात्रुवाहक विमानको भग्नावशेष भेटिएको छ । रुसी मिडियाहरुले विमानको भग्नावशेष भेटिएको र यात्रुहरु सबैको मृत्यु भएको छ । एन्टोनोभ एन-२४, अंगारा एयरलाइन्सद्वारा सञ्चालित विमानमा ४३ यात्रु र छ जना चालक दलका सदस्यहरू रहेको मिडिया रिपोर्टमा उल्लेख छ।

    १७.भारत र बेलायतबीच नयाँ व्यापार सम्झौता भएको छ । बेलायत भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बेलायती प्रधानमन्त्री किरोन स्मार्टरसँग स्वतन्त्र व्यापार सहमति गरेका हुन् । यसले दुई देशबीचको व्यापार अर्बौंले बढाउने बताइएको छ । यो सम्झौताले बेलायती कार, एयरोस्पेस, इलेक्ट्रिकल, मेडिकल उपकरण र ह्विस्कीलाई भारतमा सस्तो बनाउनेछ, जबकि भारतीय कपडा र गहना पनि बेलायतमा सस्तो हुनेछ । यो सम्झौताले अवैध आप्रवासनलाई सम्बोधन गर्न नयाँ भारत-बेलायत योजनाप्रति प्रतिबद्धता पनि व्यक्त गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

    १८.थाइल्याण्ड-कम्बोडिया सीमामा जारी सैन्य झडपमा अहिलेसम्म कम्तिमा १२ जनाको मृत्यु भएको छ भने १४ जनाभन्दा बढी घाइते भएका छन् । थाइल्याण्डले झडपमा एक सैन्य कर्मचारी र ११ जना सर्वसाधारणको मृत्यु भएको बताएको छ । यो घटना एक दिन अघि सीमामा भएको बारुदी सुरुङ विस्फोटमा एक थाई सैनिक घाइते भएपछि भएको हो, त्यसपछि थाइल्याण्डले कम्बोडियाबाट आफ्नो राजदूत फिर्ता बोलाएको थियो । दुवै देशका सैनिकहरूले बिहीबार बिहानदेखि सीमामा गोली चलाइरहेका छन् । थाइल्याण्डले कम्बोडियाको सैन्य अड्डामा हवाई बमबारी गरेको बताएको छ । 

    १९.संयुक्त राष्ट्रसंघको एक शीर्ष अदालतले जलवायु परिवर्तनको बारेमा ऐतिहासिक फैसला सुनाएको छ । नेदरल्याण्ड्सको हेगस्थित अन्तर्राष्ट्रिय न्याय अदालतले यदि राज्यहरूले जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौता अन्तर्गत विश्वव्यापी तापक्रमलाई पूर्व-औद्योगिक स्तरभन्दा १.५ डिग्री सेल्सियसमा सीमित गर्ने दायित्व उल्लङ्घन गरेमा उनीहरु कानुनी रुपमा जिम्मेवार हुने र उनीहरु पूर्ण क्षतिपूर्ति दिन भागीदार हुनसक्ने फैसला गरेको छ । अदालतको यो फैसलाले जलवायु परिवर्तनको मुद्दामा देशहरूलाई एकअर्कालाई मुद्दा हाल्ने बाटो खुला गरेको छ ।

    २०.रसुवा नाकास्थित मितेरी पुल बगाएपछि चीनतर्फ अलपत्र परेका २०३ जना नेपाली बुधबार उत्तरी नाका तातोपानीबाट नेपाल फर्किएका छन् । असार २४ गते भोटेकोशीको सहायक ल्हेन्दे खोलामा आएको बाढीले रसुवा नाकास्थित मितेरी पुल बगाएपछि अलपत्र परेका उनीहरुलाई सिन्धुपाल्चोकको तातोपानी नाकाबाट नेपाल भित्र्याइएको हो । उनीहरुलाई चिनियाँ सुरक्षाकर्मीसहित २० वटा गाडीमा तातोपानीसम्म ल्याइएको थियो । नेपाल सरकारको आग्रहमा उनीहरुलाई तातोपानी नाका हुँदै ल्याइएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिएका छन् ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij