Logo

Jul 24 2025 | २०८२, साउन ८ गते

Jul 24 2025 | २०८२, साउन ८ गते

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

  • काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

    images
    images
    images

    १- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपमहासचिव जनार्दन शर्मा लक्षित टिप्पणी गर्दै आफूसँग सिँगौरी खेलेको टिप्पणी गरेका छन् । बुधबार पुष्पलालको ४७औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले जनार्दनप्रति लक्षित गर्दै सिँगौरी खेलेको आरोप लगाएका हुन् । प्रचण्डले अहिले केहि साथीले सिँगौरी खेलेको बताउदै आफुले पार्टी कमिटी र परामर्श समितिमा आफ्ना मत राख्न दिएको बताए । प्रचण्डले भने- 'मैले धेरै पटक आलोचना गरेको सुन्छु । एकथरी मान्छेलाई छटपटी भएको छ । ३६ वर्ष भइसक्यो छोड्दैन भन्छन् । अब नेतृत्व छोडी दिउँ कि क्या हो ? भन्ने लाग्छ, फेरि एक मनले सोच्छु, मैले छोड्यो भने झन् बर्बाद हुन्छ कि जस्तो लाग्छ ।'यस अघि मंगलबार एक राष्ट्रिय सभा गृहमै आयोजित गोष्ठीमा जनार्दनले पार्टीमा केन्द्रीयता हावी भएको र पटक पटक सरकारमा गएर पनि पार्टीको नीति र संबिधान अनुसार काम गर्न नसकेको भन्दै नेतृत्वको कडा आलोचना गरेका थिए ।

    images

    २- नेपाल चिकित्सक संघले सरकारले आफुहरुसँग गरेको उपभोक्ता संरक्षण ऐन संसोधन गर्ने सहमतिको पालना गर्न चासो नदेखाएको बताएको छ । बुधबार संघले प्रेस विज्ञप्ति जारी गर्दै ऐन संशोधन गर्न सुझाव सहितको प्रतिवेदन पेश गर्न गठन भएको कार्यादलले काम अगाडि नबढाएकोप्रति असन्तुष्टि जनाएको हो । संघले भनेको छ- 'संघसँग भएको सहमति अविलम्ब कार्यान्वयनका लागि गम्भीर हुन सम्पूर्ण सरोकारवाला निकायहरूलाई आग्रह गर्दै, हामीलाई पुनः आन्दोलनका लागि बाध्य पार्ने स्थिती सिर्जना गरिएमा अबको आन्दोलनको स्वरुप थप सशक्त हुन्छ ।'

    ३- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले स्वास्थ्य मन्त्रालयलाई पत्र लेख्दै नगरपालिकाको जग्गा फिर्ता गरिदिन आग्रह गरेका छन् । मेयर साम्पाङले उपमहानगरले आफ्नै अस्पताल बनाउन चाहेको उल्लेख गर्दै नगरपालिकाको जग्गा विपी अस्पताललाई दिएको भन्दै फिर्ता गरिदिन आग्रह गरेका छन् ।

    ४- नेकपा एमालेका महासचिव शंकर पोखरेलले पुर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता स्वत: निष्कृय भएको बताएका छन् । बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा पार्टी महासचिव पोखरेलले भण्डारीले लिएको सदस्यता स्वत: निष्कृय भएको बताएका हुन् । महासचिव पोखरेलले एमालेको केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको राजनीतिमा सक्रिय हुन नमिल्न निर्णय गरेसँगै सदस्यता निष्कृय भएको बताए । उनले राष्ट्रको गौरव भइसकेको साझा व्यक्तित्व कुनै राजनीतिक दलसँग आवद्ध हुन नमिल्ने एमालेले निष्कर्ष निकालेको समेत बताए ।

    images

    ५- प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणमा भएको प्रगतिको प्रशंसा नभएको गुनासो गरेका छन् । बुधबार प्रतिनिधि सभामा सांसदहरूका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले किर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणको विषय भएको काममा प्रशंसा गर्नुको साटो आलोचना गरेकोप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । उनले भने- 'रंगशाला त बन्दै छ त ! तयार हुने स्थितिमा पुगिसक्यो। यसमा खुसी हुनु छैन, दुई दिन किन नाघ्यो भन्छन् । दुई दिन लाग्न सक्छ । मैले तीव्रताका लागि, छिटो होस् भन्नका लागि ३०० दिन भनेर तोकेको थिएँ । तर हाम्रा प्रक्रियाका जटिलता, खरिद प्रक्रियाका जटिलता, भूमिका स्वामित्वका जटिलता आदि कारणले काम प्रारम्भ गर्नै पुससम्म लाग्यो ।’

    ६- नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डले गणतन्त्रप्रतिको सबैभन्दा गहिरो चिन्ता तथा सरोकार आफूहरूलाई नै रहेको स्पष्ट गरेका छन् । बुधबार राजधानीमा आयोजित ‘गणतन्त्र अगाडि र पछाडिको नेपाल’ शीर्षक पुस्तकको लोकार्पण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डज्यूले लामो संघर्ष, त्याग र बलिदानबाट प्राप्त भएको गणतन्त्रमाथि हाल प्रश्न उठ्न थालेपछि त्यसको संरक्षण र सुदृढीकरणप्रति गम्भीर चासो व्यक्त गरेका हुन् । उनले आन्दोलनको स्मरण गर्दै भने- 'बच्चा जन्माउने आमालाई जति माया हुन्छ, त्यति अरूलाई हुँदैन। गणतन्त्रप्रति प्रश्न उठेपछि हामीले काठमाडौंमा विशाल प्रदर्शन त्यसैगरी मात्रै गरेका थिएनौं, त्यो हाम्रो संकल्प र सरोकारको अभिव्यक्ति थियो ।'

    ७- नेप्से परिसूचकमा सामान्य वृद्धि भएको छ । आज नेप्से ५.१७ अंकले बढेर २९७८.८८ विन्दुमा रोकिएको छ । आजको कारोबारमा विभिन्न ३१९ कम्पनीका ४ करोड ४८ लाख ६६ हजार १५९ कित्ता शेयर १९ अर्ब ५७ करोड ५२ लाख ७० हजार ५५७ मा किनबेच भएको नेप्सेले जनाएको छ ।

    ८- नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा २१ सयले बढेर तोलाको एक लाख ९७ हजार ६ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको एक लाख ९५ हजार ५ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३० रुपैयाँले बढेर २३५० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको २३२० मा कारोबार भएको थियो । 

    ९- प्रतिनिधिसभाको आजको बैठकमा सांसद्हरुको प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री ओलीले भ्रष्टाचार गर्दिनँ र गर्न दिन्न भन्ने आफ्नो अठोटमा आफू स्पष्ट रहेको बताउँदै उनले तथ्यका आधारमा आएका गम्भीर प्रकारका भ्रष्टाचारका घटनालाई कुनै पनि सहन नसकिने उल्लेख गर्दै कसैले आरोप लगाएकै आधारमा भने कारबाही नहुने जवाफ दिए ।

    १०- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी उषाकिरण भण्डारीले नेकपा एमाले केन्द्रीय कमिटीको बैठकको निर्णयबाट अचम्मित नभएको बताएकी छन् । सामाजिक सञ्जालमा लेख्दै उषाले निर्णय र निर्णयमा पुग्न गरिएका तिगडम दुवैबाट आफु अच्चमित नभएको उल्लेख गरेकी छन् ।  उनले भनेकी छन्- तपाईंहरू मध्य कति जना यो निर्णयबाट छक्क पर्नुभएको देखेर म छक्क परें । तपाईंहरू मानव प्रकृतिलाई नहेरी कसरी बाँचिरहनुभएको छ ? निर्णय र निर्णयमा पुग्न गरिएका तिगडम दुवैबाट म चाहीं अच्चमित छैन । म खुसी छु कि यो खुला रूपमा बाहिर आयो । अनि, आज कमरेड पुष्पलालको स्मृति दिवस पनि रहेछ, कस्तो संयोग !! मलाई उहिले उहिले लाग्थ्यो किन उहाँको परिवार नेकपा एमालेमा नैतिक मर्थन गर्न पनि देखिने गरि प्रस्तुत हुंदैन, हामीलाई त आमाले राजनिती गर्न मनछैन भनेपनि सधैं देखिने गरि पार्टीको समर्थनमा उभिनु, नैतिक समर्थन गर्नु , टाढा नजानु भन्नुहुन्छ र सोही अनुरुप कोशिश गरियो । तर विगतको एक महिनादेखि मलाई ज्ञान भयो, नैतिक समर्थन पनि गर्न नसकिने तहसम्म पनि पुर्याउनेरहेछन् । र नैतिक समर्थन खोज्दैनन् पनि । यो ज्ञानको बोझ आज यहाँ बिसाउने मौका यो प्रकरणले दियो- त्यस कारण यो प्रकरणलाई धन्यवाद !

    ११- नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं पूर्वमन्त्री रञ्जिता श्रेष्ठ अख्तियार पुगेकी छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निवर्तमान सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता मुछिएको घुस प्रकरणको अडियोमा रञ्जिताको अवाज पनि रहेकोमा अनुसन्धानको क्रममा बयानका लागि बोलाएको हो ।  अडियोमा रञ्जिताको अवाज रहेको परिक्षणबाट पुष्टि भएपछि अख्तियारले बयानका लागि बोलाएको बताइएको छ ।  यस प्रकरणमा रञ्जिताको भूमिका बिचौलियाको रहेको विषयमा समेत अख्तियारले अनुसन्धान गरिरहेको पाइएको छ ।

    १२- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले आज पनि प्रतिनिधि सभाको बैठक बहिस्कार गरेका छन् । प्रतिनिधि सभाको बैठकमा रास्वपाकी सांसद विन्ध्याबासिनी कंसाकार र राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले आफ्नो धारणा राखेपछि आजको बैठक बहिष्कार गरेका हुन् । रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा आफुहरुको विरोध जारी रहेको बताउदै उनीहरुले छानबिनका लागि उच्चस्तरीय आयोग बनाउनुपर्ने माग राख्दै आएका छन् । दुवै दलले भिजिट भिसा प्रकरणमा गत जेठ १३ गतेदेखि नै संसदमा विरोध गर्दै आएका छन् ।

    १३- उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा आउन नहुने बताएका छन् । बुधबार पुष्पलाल स्मृति दिवसको अवसरमा रूपन्देहीमा आयोजित कार्यक्रममा बोल्दै एमाले उपाध्यक्ष समेत रहेका पौडेलले अब भण्डारीको सदस्यता पनि नवीकरण नहुने र सक्रिय राजनीतिमा आउन नहुने विचार व्यक्त गरेका हुन् ।  उनले भने- ‘पूर्वराष्ट्रपति राजनीतिमा आउनु हुन्छ कि हुँदैन भन्ने विषयमा पार्टीभित्र र बाहिरसमेत व्यापक चर्चा भयो, पार्टीभित्र पनि यसबारेमा व्यापक छलफल गरी उहाँ पूर्वराष्ट्रपतिकै हैसियतमा रहनुपर्छ भन्ने एमालेले निष्कर्ष निकालेको हो ।'

    १४- सरकारले मधेश प्रदेशमा विपद् संकटग्रस्त घोषणा गरेको छ । बुधबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले मधेश प्रदेशका ८ जिल्लालाई विपत् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो । सरकारले तीन महिनाको लागि मधेश प्रदेशभर विपत् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । मधेश प्रदेशका जिल्लामा भूमिगत पानीको मुहान समेत सुकेर खानेपानीको चरम अभाव भएपछि सरकारले यस्तो निर्णय लिएको एक मन्त्रीले जानकारी दिएका छन् । 

    १५- गएरातीको अविरल वर्षाले ताप्लेजुङ जिल्लाको उत्तरी क्षेत्रमा रहेको फक्ताङलुङ गाउँपालिका ५ तापेथोक र ६ लेलेप जोड्ने तमोर नदीमाथिको रानी पुलमा रहेको बेलिब्रिज बगाएको छ । यसबाट उत्तरदक्षिण लोकमार्ग ( तमोर करिडोर) लेलेप, ओलाङचुङगोला तर्फ़को आवत जावत पुर्णरुपमा अवरुद्ध भएको छ ।

    १६- जाजरकोटमा निर्माण कार्यमा संलग्न एउटा टिपर भेरी नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् । जाजरकोटको नलगाड नगरपालिका अन्तर्गतको दल्लीबाट रिम्नातर्फ जाँदै गरेको यती बिल्डर्सको रा १ क १५०१ नम्बरको टिपर रुकुमपश्चिमको आठबीसकोट–१४, पिपलचौरस्थित भेरी नदीमा खसेको हो । इलाका प्रहरी कार्यालय रिम्नाका अनुसार टिपरमा चालकसहित तीन जना सवार थिए । उनीहरू सबैको अवस्था अहिलेसम्म अज्ञात रहेको प्रहरीले जनाएको छ । घटनापछि रुकुमपश्चिम र जाजरकोटबाट प्रहरी टोली परिचालन गरिएको छ तर भेरी नदीमा पानीको मात्रा अत्यधिक भएकाले खोजी कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । 

    १७- वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेलले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । ३७ वर्षीय अलराउन्डरले आफ्नो करियरको अन्तिम दुई खेल अष्ट्रेलिया विरुद्ध दुई टी-२० को रूपमा खेलेका थिए । रसेलले आफ्नो सन्यासका लागि घरेलु मैदान सबिना पार्कमा हुने अष्ट्रेलिया विरुद्धको पहिलो दुई खेल छनौट गरेका थिए । रसेलले क्यारिबियन देशहरूबाट आउने क्रिकेटरहरूको अर्को पुस्ताको लागि आदर्श बनेर मेरो अन्तर्राष्ट्रिय करियरलाई उच्च स्तरमा अन्त्य गर्न चाहेको बताएका छन् । रसेल हालैका समयमा वेस्ट इन्डिजबाट दोस्रो उच्च-प्रोफाइल सन्यास लिने खेलाडी हुन् । यस अघि युवा ब्याट्सम्यान निकोलस पूरनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थए ।

    १८- निर्देशक मिलन चाम्सको फिल्म सुम्निमा अभिनेता अनुप विक्रम शाही अनुबन्ध भएका छन् । मिलनको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘सुम्निमा’मा अनुप अनुबन्ध भएका हुन् । नकारात्मक भूमिकाका लागि परिचित अनुप यो फिल्ममा भूमिका बारे स्पष्ट जानकारी दिइएको छैन । सुम्निमामा अनुपअघि फिल्ममा अभिनेत्री उपासना सिंह ठकुरी र अभिनेता कुन्साङ बमजन अनुबन्धित भइसकेका छन् । गोर्खा फिल्म्सले चाम्स इन्टरटेन्मेन्टसँग निर्माणमा सहकार्य गरेको यो फिल्म विशुद्ध प्रेमकथामा बन्ने जनाइएको छ ।

    १९- बलिवुड फिल्म 'सैयारा' ले बम्पर कमाई गरिरहेको छ । अहान पाण्डेको डेब्यू फिल्म 'सैयारा' घरेलु बक्स अफिसमा कमाईको सुनामी ल्याएको विश्लेषण गरिएको छ । फिल्मले रिलिजको पाँच दिनमा १३३ करोड ७५ लाख कमाई गरेको छ । फिल्मले रिलिजको पाँचौं दिन मंगलबार २५ करोड कमाई गरेर बक्स अफिसमा नरोकिने संकेत गरेको छ । यस अघि फिल्मले पहिलो दिन २२ करोड, दोस्रो दिन २६.२५ करोड, तेस्रो दिन ३६.२५ र चौथो दिन २४.२५ करोड कमाई गरेको बलिवुड फिल्म विश्लेषक तरण आदर्शले जानकारी दिएका छन् । 

    २०- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका-जापान व्यापार सम्झौताको घोषणा गरेपछि, जापानको निक्केई २२५ सूचकांकमा २.५ प्रतिशतभन्दा बढीले बढेको छ । टोयोटा, निसान र होन्डा जस्ता प्रमुख कार कम्पनीहरूको शेयरमा पनि उछाल देखिएको एनएचकेले उल्लेख गरेको छ । रिपोर्ट अनुसार, सम्झौता अन्तर्गत, अमेरिकामा जापानी कार निर्माताहरूमाथि लगाइएको हालको शुल्क घटाइने भएको छ । यसको पुष्टि गर्दै, जापानका प्रधानमन्त्री शिगेरु इशिबाले अब जापानी कार कम्पनीहरूले अमेरिकामा निर्यातमा १५ प्रतिशत शुल्क तिर्नुपर्ने बताएका छन्, जुन पहिले २५ प्रतिशत थियो । केही समय अघि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्तावित सम्झौता अन्तर्गत, जापानले अमेरिकामा ५५० अर्ब डलर लगानी गर्नेछ र १५ प्रतिशत पारस्परिक शुल्क तिर्नेछ । उनले जापान अमेरिकाको सबैभन्दा ठूलो व्यापारिक साझेदारहरू मध्ये एक भएको समेत बताएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij