
Jul 23 2025 | २०८२, साउन ७ गते
काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज सकिदैछ । ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यलयमा सोमबारदेखि शुरु भएको बैठक आज सकिन लागेको हो । यस बैठकले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले प्रस्तुत गरेको विधान संशोधन र सांगठनिक राजनीतिक प्रस्ताव स्वीकृत गर्ने छ । त्यस्तै यस बैठकले पुर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिमा पुनरागमन गर्ने विषयमा निर्णय लिने बताइएको छ ।
२- सभामुख देवराज घिमिरेले कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियासहित भिजिट भिसा प्रकरणमा संसदमा निरन्तर अवरोध गरिरहेका रास्वपा र राप्रपाका नेताहरूसँग छलफल गरेका छन् । उनले मंगलबार रास्वपा कार्यवाहक सभापति डीपी अर्याल र राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङसँग छलफल गरेका हुन् ।
३- संघीय निजामती सेवा विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ । मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले प्रस्तुत गरेको प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त संघीय निजामती सेवा विधेयक २०८० लाई दफावार छलफलका लागि विधायक व्यवस्थापन समिति पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतीले स्वीकृत गरेको हो ।
४- नेप्से परिसूचकमा हरियाली छाएको छ । आज नेप्से ८०.९७ अंकले बढेर २९७३. ७० विन्दुमा रोकिएको छ । आजको कारोबारमा विभिन्न ३१९ कम्पनीका ४ करोड ३५ लाख ८१ हजार २२८ कित्ता शेयर २० अर्ब ८ करोड ५३ लाख ६७ हजार २९३ मा किनबेच भएको नेप्सेले जनाएको छ ।
५- नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले नौ पटक कम्युनिष्टको नेतृत्वमा सरकार बनेपनि देशमा गरिवी नहटेको बताएका छन् । ४७औं पुष्पलाल स्मृतिमा वर्तमान राजनीति र कम्युनिष्ट आन्दोलन विषयक कार्यक्रममा बोल्दै शर्माले ९ पटक कम्युनिष्टको नेतृत्वमा सरकार बनेपनि गरिवीको अवस्था परिवर्तन नभएको बताए । शर्माले भने- '९ पटक कम्युनिष्टको नेतृत्वमा देशमा सरकार बनेको छ । यस अवस्थामा गरिवीको अवस्था के छ, लाखौ लाखौ छोराहरुई विदेशको भूमिमा पासिना बगाएका छन्, देशको जमिन बाजो छ, खण्डहर बन्दै छ, यो आज इतिहासको प्रश्न हो, कम्युनिष्ट नेतृत्वप्रतिको गम्भीर प्रश्न हो, हामीले किन गर्न सकेनौं या किन गरेनौं भन्ने प्रश्न हो ।'
६- भक्तपुरको मध्यपुर थिमी मनोहरा फाँटबाट नेपालका लागि नयाँ प्रजातिको चरा भेटिएको छ । नेपाल बर्ड रेकर्ड कमिटीले सो चराको नेपाली नाम ‘साइबेरियाली राजपुत्रिका’ राखिएको छ । नेपालका चराविद् कुमुद पराजुली, सुप्रदीप्त न्यौपाने र शत्रुहन पाण्डे समेतको टोलीले चरा अवलोकनका क्रममा असार ६ गते पहिलोपटक सो चरा देखेका थिए । टोलीका सदस्यहरूले उक्त चराको फोटो खिचेर प्रारम्भिक पहिचान गरेपछि चराको यकिन पुष्ट्याइँ गरिएको रेकर्ड कमिटीले जनाएको छ ।
७- आर्थिक वर्ष २०८१/८२ मा १८ खर्ब ४ अर्बको आयात भएको छ । भन्सार विभागले मंगलबार सार्बजनिक गरेको गत आर्थिक वर्षको तथ्यांकअनुसार १८ खर्ब ४ अर्ब १२ करोड २७ लाख ३१ हजारको वस्तु आयात भएको हो । यस अघि आर्थिक वर्ष २०८०/८१ मा १५ खर्ब ९२ अर्ब ९८ करोड ५५ लाख २८ हजारको वस्तु आयात भएको थियो । आर्थिक वर्ष २०८१/८२ मा आयातमा १३.२५ प्रतिशतले बढेको छ । साथै गत आर्थिक बर्षमा १५ खर्ब २७ अर्ब ९ करोड २५ लाखको व्यापार घाटा भएको छ । अघिल्लो आर्थिक बर्ष भन्दा व्यापार घाटा ६ प्रतिशतले बढी हो । आर्थिक बर्ष २०८०/८१ मा नेपालको कुल व्यापार घाटा १४ खर्ब ४० अर्ब ६० करोड ४२ लाख रहेको थियो ।
८- बंगलादेश वायुसेनाको प्रशिक्षण विमान ढाकाको कलेजमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या २७ पुगेको छ । बंगलादेशको मिडिया डेली स्टारका अनुसार कलेजमा कक्षा चलिरहेको बेला भएको एयर फोर्सको जेट दुर्घटनामा २० जनाको मृत्यु भएको र ७ जनाको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा २५ जना विद्यालयका विद्यार्थी रहेको धेरै जस्तो १२ बर्षभन्दा कम उमेरका रहेको बताइएको छ । त्यस्तै ७८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको र कैयौंको अवस्था गम्भीर रहेको बताइएको छ ।
९- प्रधानमन्त्री केपी शर्मा ओलीले बीपी कोइरालाप्रति उच्च सम्मान रहेको बताएका छन् । विपी कोइरालाको ४३औँ स्मृति दिवसको अवसरमा प्रधानमन्त्री ओलीले नेपाली जनताको स्वतन्त्रता र लोकतान्त्रिक आन्दोलनको अगुवाइमा विपी कोइरालाको भूमिकाको स्मरण गर्दै उच्च सम्मान व्यक्त गरेका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्- 'नेपाली कांग्रेसका संस्थापक तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ४४ औं स्मृति दिवसको अवसरमा उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु । नेपाली जनताको स्वतन्त्रता र लोकतान्त्रिक आन्दोलनको अगुवाइमा उहाँको भूमिकाको स्मरण गर्दछु । आदरणीय बीपी कोइरालाप्रति उच्च सम्मान !
१०- २०८१ सालको मदन पुरस्कारका लागि छनोट भएका पुस्तकहरूको श्रेष्ठ सूची सार्वजनिक भएको छ । मदन पुरस्कार गुठीले मंगलबार सात पुस्तकको सूची सार्वजनिक गरेको हो । सूचीमा छुदेन काविमोको 'उरमाल', रमेश भुसालको 'छालबाटो', कुमारी लामाको 'दर्ज्यु संलाप', मनप्रसाद सुब्बाको 'पञ्चतत्त्वको पालाम', श्रेयज सुवेदीको 'बहुरुपी', सुधीर शर्माको 'भिक्षु, व्यापार र विद्रोह' र तीर्थ गुरुङको 'हिउँको गीत' रहेका छन् । पुरस्कारका लागि २९९ पुस्तक प्राप्त भएको मदन पुरस्कार गुठीले जनाएको छ ।
११- प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल उद्योग परिसंघबीच छलफल भएको छ । परिसंघका नवनिर्वाचित अध्यक्ष वीरेन्द्रराज पाण्डे नेतृत्वको परिसंघ पदाधिकारीहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले देशलाई उत्पादनको थलो बनाई औद्योगिकरणमा लैजान आवश्यक रहेको बताए । छलफलमा उपाध्यक्षहरु राज बहादुर शाह, हेम राज ढकाल, अमित मोर, भीम घिमिरे, गोकुल भण्डारी, पदाधिकारी सदस्य सन्दीप शारडा, महानिर्देशक डा. घनश्याम ओझालगायत सहभागी थिए ।
१२- प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तरर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ । प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध, अर्थ मन्त्रालयमा सोमबार भएको दुुईपक्षीय चार समझदारी र विगतमा दुई मुलुकबीच उच्चस्तरीय भ्रमणका अवसरमा भएका विकास सहकार्यका सम्झौताको कार्यान्वयनलगायत विषयमा विचारविमर्श भएको छ ।
१३- नेकपा माओवादी केन्द्रको युवा संगठन योङ्ग कम्युनिस्ट लिग (वाईसीएल) नेपालले भक्तपुरको सुकुम्बासी बस्तीमा डुबान रोक्न अस्थायी तटबन्ध गरेको छ । श्रम तथा उत्पादनमा वाईसीएल अभियानको निरन्तरतास्वरुप वाईसीएल नेपालले मंगलबार बिहान मनोहरा सुकुमबासी बस्ती नजिकको मनोहरा नदी किनारमा तटबन्द गरेको जनाएको छ । मनोहरा सुकुमबासी बस्तीमा बाढी पसेर दिने सास्ती तथा बस्तीमा हुने डुवान रोक्न अस्थायी तटबन्ध लगाइएको कार्यक्रम रहेको वाईसीएलका अध्यक्ष पुष्प वलीले जानकारी दिएका छन् ।
१४- नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १८ सयले बढेर तोलाको एक लाख ९५ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको एक लाख ९३ हजार ७ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३५ रुपैयाँले बढेर २३२० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको २२८५ मा कारोबार भएको थियो
१५- नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बीपी कोइरालाले अपनाएको सिद्धान्त अहिले पनि उत्तिकै सान्दर्भिक भएको बताएका छन् । बीपी कोइरालाको ४३औं स्मृति दिवसको अवसरमा काठमाडौँको बसुन्धरामा आयोजित 'देश विकास र देशवासीको उन्नतीको आधार- बीपी बिचार' बिषयक गोष्ठीलाई सम्बोधन गर्दै सभापति देउवाले राष्ट्रिय एकता, सामाजिक सदभावलाई अझ बलियो बनाउन बीपी कोइरालाले अपनाएको सिद्धान्त अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताएका हुन् ।
१६- साफ यू-२० महिला फुटबल च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली महिला फुटबल टिम आज स्वदेश फर्किएको छ । ढाकामा सम्पन्न साफ यू-२० महिला फुटबल च्याम्पियनसिप नेपाल उपविजेता बनेको थियो । अन्तिम खेलमा बंगलादेशसँग नेपाल ४-० गोल अन्तरले पराजित भएसँगै नेपाल उपविजेतामा सिमित भएको थियो । यस प्रतियोगितामा नेपाल दुवै पटक बंगलादेशसँग पराजित भएको थियो । प्रतियोगितामा सर्बाधिक १० गोल गरेकी नेपालीकी पुर्णिमा राईले गोल्डेन बुट जितेकी थिइन् ।
१७- कैलाली, डिभिजन वन कार्यालय, धनगढीका बरिष्ठ वन अधिकृत पूर्णशंकर यादव ७ लाख ३१ हजार घुस सहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरको टोलीले यादवलाई घुस रकमसहित डिभिजन वन कार्यालय, धनगढीबाट सोमबार पक्राउ गरेको हो । यादवले कैलालीको चुरे गाउँपालिका-६ स्थित ग्वासी सामुदायिक वनको घाटगद्दी गरेको काठको बिमर्का र छोडपूर्जीको लागि लिएको घुस रकमसहित अख्तियारले पक्राउ गरेको जनाएको छ ।
१८- बेलायत, फ्रान्स र धेरै युरोपेली देशहरूसहित २५ राष्ट्रहरूले गाजा युद्ध तुरुन्तै अन्त्य गर्न माग गर्दै संयुक्त विज्ञप्ति जारी गरेका छन् । अर्कोतर्फ, इजरायली सेना सोमबार पहिलो पटक गाजाको मध्य शहर देइर अल-बलाहमा प्रवेश गरेको छ । २१ महिनाको युद्धमा अहिलेसम्म यो शहर ठूलो युद्ध विनाशबाट जोगिएको थियो । २५ देशहरूको संयुक्त विज्ञप्तिमा गाजा स्वास्थ्य मन्त्रालयको तथ्याङ्क उद्धृत गरिएको छ । यसले ८०० भन्दा बढी प्यालेस्टिनीहरूको मृत्युलाई भयानक रूपमा वर्णन गरेको छ । तिनीहरू खाना र पानी खोजिरहेका थिए । उनीहरूले अमेरिका समर्थित संस्था गाजा मानवीय फाउन्डेसन मार्फत पठाइएको खाना वितरणको क्रममा इजरायली सैनिकको गोली लागेर सयौं प्यालेस्टिनीहरूको मृत्युको पनि निन्दा गरेका छन् । विज्ञप्तिमा २० युरोपेली देशहरूसँगै क्यानडा, अष्ट्रेलिया र न्यूजील्याण्डका विदेश मन्त्रीहरूले पनि हस्ताक्षर गरेका थिए, जबकि अमेरिका र जर्मनी यस सूचीमा समावेश छैनन् ।
१९- भारतका उपराष्ट्रपति जगदीप धनखरले राजीनामा दिएका छन् । धनखरले आफ्नो स्वास्थ्यलाई प्राथमिकता दिँदै तत्कालदेखि लागू हुने गरी भारतको उपराष्ट्रपति पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।
२०- बलिवुड फिल्म 'सैयारा' ले बम्पर कमाई गरिरहेको छ । अहान पाण्डेको डेब्यू फिल्म 'सैयारा' घरेलु बक्स अफिसमा कमाईको सुनामी ल्याएको विश्लेषण भइरहेका बेला रिलिजको चार दिनमा नै फिल्म सय करोड क्लबमा प्रवेश गरेको छ । फिल्मले रिलिजको चौथो दिन सोमबार घरेलु बक्स अफिसमा २४ करोड २५ लाख कमाई गरेको छ । बलिवुड फिल्म विश्लेषक तरण आदर्शले चार दिनमा फिल्मले १०८ करोड ७५ लाख कमाई गरेको छ । यस अघि फिल्मले पहिलो दिन शुक्रबार २२ करोड, दोस्रो दिन शनिबार २६.२५ करोड र आइतबार ३६ करोड २५ लाख कमाएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij