
Jul 21 2025 | २०८२, साउन ५ गते
काठमाडौं । अध्यागमन सुधारका क्रममा गृह मन्त्रालयले हालै लोकसेवा आयोग पास गरी आएका ४५ जना शाखा अधिकृतलाई आजदेखि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा खटाएको छ ।
अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालले सोमबारदेखि अध्यागमन कार्यालयका प्रमुख सहसचिव नरहरि घिमिरे र ४५ जना नयाँ शाखा अधिकृत विमानस्थलमा खटिएको जानकारी दिए ।
उनले भने- ‘लोकसेवाबाट आएका अधिकृतहरुलाई विभागले तीन दिने तालिम पश्चात आजदेखि विमानस्थल अध्यागमनमा खटाएको छ । अध्यागमन कार्यालयमा प्रमुखका रुपमा आउनुभएका सहसचिव घिमिरे पनि आजदेखि हाजिर भइसक्नुभएको छ ।
विमानस्थलस्थित अध्यागमनको प्रमुखका रुपमा सुरुवा भएका घिमिरे अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ताका रुपमा काम गरिसकेका सहसचिव हुन् ।
केही दिन अघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलले ४५ अधिकृतको नाम गृह मन्त्रालयमा पठाएको थियो ।
त्यसैगरी गृह मन्त्रालयले ४५ जना शाखा अधिकृत अध्यागमनमा खटिएको र सोही संख्यामा शाखा अधिकृत मन्त्रालय तानिएको जनाएको छ । गृह मन्त्रालयको प्रशासन महाशाखाका उपसचिब सुरेश जोशीले भने- ‘विमानस्थलबाट आएका अधिकृतहरु मन्त्रालयमा दरबन्दी मिलान हुन्छ । दरबन्दी भन्दा बढी अधिकृत भए तिनलाई सामान्य प्रशासन मन्त्रालय मार्फत बाहिर पठाउने काम हुन्छ ।’
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij