
May 18 2025 | २०८२, जेठ ४ गते
काठमाडौँ । भगवान् बुद्धले उपदेश, शिक्षा दिनु भएको पालि भाषाको ३० दिने प्रशिक्षण कार्यक्रम सञ्चालन भएको छ । बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालयको सहयोगमा, सभ्यता नेपाःको आयोजनामा शुक्रबार देखि काठमाडौँ स्वयम्भू स्थित आनन्द भुवन विहारमा प्रशिक्षण सुरु भएको हो । प्रमुख अतिथि सुवेदीले मन्त्रालयले प्राचीन संस्कृति, भाषा, सम्पदा संरक्षणका लागि विविध कार्यक्रम गर्दै आइरहेको बताउँदै यसै क्रममा पालि भाषा प्रशिक्षण कार्यक्रम पनि सञ्चालन गरेको जानकारी दिनुभयो।
बौद्धमार्गीको पहिचान रहेको पालि भाषा प्रशिक्षणले बौद्ध साहित्य, बौद्ध ग्रन्थको अध्ययन अनुसन्धानमा महात्वपूर्ण योगदान पुयाउने विश्वास व्यक्त गर्दै उहाँले यस्तो महात्वपूर्ण कार्यक्रममा प्रदेश सरकारबाट सहकार्य गर्न पाउनु धेरै गौरवको विषय रहेको बताउनुभयो । सचिव सुवेदीले बागमती प्रदेशभित्र रहेको भाषा, संस्कृति, सम्पदा सम्बन्धी अध्ययन अनुसन्धान गर्न चाँडै नै प्रदेशस्तरीय प्रज्ञा–प्रतिष्ठान गठन गर्ने कार्य भइरहेको पनि बताउनुभयो ।
आनन्द भुवन विहारका विहार प्रमुख भिक्षु शान्त सिद्धार्थबाट शील प्रार्थना गरी सुरु भएको कार्यक्रममा प्रमुख प्रशिक्षक डा.त्रिरत्न मानन्धरले पालि भाषा भगवान् बुद्धले आफ्नो उपदेश सबै पालि भाषामा दिएको बताउँदै भगवान् बुद्धका वचन सङ्ग्रह त्रिपिटक पनि पालि भाषामै लेखिएको जानकारी दिनुभयो ।
यस क्रममा उहाँले पालि भाषा नेपाली भाषासँग धेरै समानान्तर रहेकोले यसको अध्ययन धेरै कठिन नहुने पनि बताउनुभयो । विहारका कोषाध्यक्ष भिक्षु शान्त शोभनको संयोजकत्वमा सुरु गरिएको प्रशिक्षणमा ६० जनाभन्दा बढी प्रशिक्षार्थी सहभागी रहेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij