
May 05 2025 | २०८२, वैशाख २२ गते
रामेछापको भँगेरीमा निर्माण सुरु गरिएको पुष्पलाल स्मृति पार्कको निर्माणकार्य अलपत्र भएको छ ।
काठमाडौँ । प्रजातान्त्रिक आन्दोलनका सहिद गङ्गालाल श्रेष्ठ र नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्मथलो रामेछापको भँगेरीमा निर्माण सुरु गरिएको पुष्पलाल स्मृति पार्कको निर्माणकार्य अलपत्र भएको छ ।
पार्क निर्माणको काम सरकारको प्राथमिकतामा नपर्दा निर्माणले गति लिन सकेको छैन । पार्कको लागि सरकारले पर्याप्त बजेट नछुट्याएको कारण निर्माणकार्य त्यतिकै रोकिएको छ । सहरी विकास मन्त्रालयले कम्प्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको स्मृतिमा पुष्पलाल पार्कको निर्माण थालेको ५ वर्ष बित्यो । तर निर्माणको हिसाबले पार्कको सामान्य संरचनाको बनेको छैन ।
पार्क निर्माणको सबै काम सम्पन्न हुँदा ५५ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । तर पर्याप्त बजेट विनियोजन गर्दा विस्तृत योजना प्रतिवेदन अनुसार संरचना निर्माणका काम अघि बढ्न सकेका छैनन् । पार्कको लागि ५२ रोपनी जमिन अधिग्रहण गरिएको छ । सो जग्गामा एउटा सभा हल, शौचालय र केही आवासका लागि साना भवन बन्नु बाहेक अन्य काम भएको छैन ।
निर्माण व्यवसायी मार्फत बनाइएको ती संरचनाको संरक्षण गर्ने कुनै निकाय छैन । निर्माण व्यवसायी काम सकेर हिँडेपछि ती संरचना बेवारिसे जस्तै बनेका छन् । बनेका संरचना प्रयोग नै नगरी थोत्रिँदै गएका छन् ।
अन्तर्राष्ट्रिय स्तरको सङ्ग्रहालय सहितको पार्क निर्माणको योजना अनुसार सरकारले सो पार्क निर्माणको कार्यक्रम अघि बढाएको हो । कम्युनिष्टहरुको लागि भँगेरीलाई तीर्थस्थलको रूपमा विकास गर्न सो पार्क निर्माणको अवधारणा अघि सारिएको वाग्मती प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेल बताउँछन् ।
सो पार्कमा पुष्पलालले प्रयोग गरेका समानहरू सहित सङ्ग्रहालय बनाएर राख्ने योजना छ । सङ्ग्रहालयमा गङ्गालाल र पुष्पलालसँग सम्बन्धित सामाग्रीहरूका साथै कम्युनिष्ट पार्टीका महत्त्वपूर्ण सामाग्रीहरू समेत राखिने छन् । त्यसको लागि गङ्गालाल र पुष्पलालले प्रयोग गरेका सामाग्री पुस्तक, लेख रचना लगायतका सामाग्री सङ्कलन पनि भइरहेका छन् । तर पार्क कहिले पुरा हुने हो निश्चित छैन ।
पार्कमा गङ्गालाल, पुष्पलाल सहित कम्युनिष्ट पार्टीका संस्थापकको मूर्ति राख्ने योजना छ । सोही योजना अनुसार काठमाडौंमा मूर्ति बनिसकेका छन् । तर निर्मार्णकार्य सुस्त हुँदा मूर्ति राख्ने काम हुन सकेको छैन ।
भँगेरीमा अहिले सानो डुङ्गामा कुँदिएको गङ्गालाल र पुष्पलालको मूर्ति छ । त्यहाँ पुग्ने मानिहरूँ त्यही मूर्तिको छेउमा बासेर फोटा खिच्छन् र गङ्गालाल र पुष्पलालको उपेक्षा भयो भनेर गाली गर्छन् । तर जसले गाली गर्छन्, उनीहरू नै सत्तामा पुग्दा पार्कको कामलाई पूर्णता दिन कुनै पहल गर्दैनन् ।
कम्युनिष्ट पार्टीका संस्थापक महासचिव जन्मिएको ठाउँमा बन्न लागेको पार्क अलपत्र पर्नु विडम्बनापूर्ण भएको नेकपा एमाले रामेछापका उपाध्यक्ष होतराज ढकाल बताउँछन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij