Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौं । यस वर्ष डढेलोका कारण जिल्लामा करिब एक सय हेक्टर वनमा क्षति पुगेको छ । जिल्लामा रहेका २८ सामुदायिक वनको ९९ हेक्टर क्षेत्रफलमा डढेलोले क्षति पुर्याएको डिभिजन वन कार्यालयले जनाएको छ ।
कार्यालयका वन अधिकृत विनयबहादुर अधिकारीले सबैभन्दा बढी धवलागिरि गाउँपालिकास्थित नौ वटा सामुदायिक वनमा डढेलो लागेको जानकारी दिए । उनकाअनुसार मालिका गाउँपालिकाको चार, मङ्गला गाउँपालिकाको दुई, रघुगङ्गा गाउँपालिकाको चार, अन्नपूर्ण गाउँपालिकाको छ र बेनी नगरपालिकाको तीन वटा सामुदायिक वनमा डढेलो लागेको छ ।“विगतका वर्षका तुलनामा यस वर्ष ढडेलो कम लागेको छ”, अधिकारीले भने, “शुक्रबार र शनिबारको वर्षाले पछिल्लो पटक वनजङ्गलमा लागेको डढेलो निभाएकाले मौसम सफा र सुन्दर देखिएको छ ।” घाँस पलाउने बहानामा, अवैध सिकार र आगोको जथाभावी प्रयोगले वनजङ्गलमा डढेलो लाग्ने गरेको उनको भनाइ छ ।
गोठालाहरूले राम्रो घाँस पलाउँछ भनेर जङ्गल र भिरमा आगो लगाउने गरेका भन्दै वन अधिकृत अधिकारीले सिकारीहरूले वन्यजन्तु र पन्छीलाई भगाउन पनि डढेलो लगाउने गरेको पाइएको उल्लेख गरे । उनकाअनुसार जिल्लामा दुई लाख २९ हजार ७०६ हेक्टर क्षेत्रफल वनले ओगटेको छ ।
वन डढेलो नियन्त्रणका लागि समुदायमा आधारित वन व्यवस्थापनसम्बन्धी कार्यक्रम गर्ने, डढेलो नियन्त्रण सञ्जाल गठन गर्ने, अग्निरेखा निर्माणलगायत काममा आवश्यक सहजीकरण गर्नुका साथै सुरक्षा निकायलाई आवश्यकपर्ने सामग्री सहयोग गरिएको डिभिजन वन अधिकृत विष्णु अधिकारीले जानकारी दिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij