काठमाडौं । नेपाल पत्रकार महासङ्घले पत्रकार हत्या र मिडियामाथिको सुनियोजित आक्रमणको विरोध गर्दै सोमबार देशभरबाट एक साथ सरकारलाई ज्ञापनपत्र बुझाएको छ । महासङ्घले पत्रकार सुरेश रजकको हत्यामा संलग्नलाई कारबाहीका साथै उनको परिवारलाई तत्काल राहत उपलब्ध गराउन माग गरेको छ ।
महासङ्घको केन्द्रीय समितिले सोमबार काठमाडौँमा गृहमन्त्री रमेश लेखकलाई भेटेर ज्ञापनपत्र बुझाउँदै शुक्रबार राजतन्त्र पक्षधरहरूको प्रदर्शनका क्रममा भएको सुनियोजित आक्रमणप्रति खेद प्रकट गरेको छ ।
प्रदेश समितिहरूले प्रदेश सरकारका गृहमन्त्रीलाई ज्ञापन बुझाएका छन् भने जिल्ला शाखाहरूले प्रमुख जिल्ला अधिकारीमार्फत एकसाथ सरकारलाई ज्ञापनपत्र बुझाउँदै प्रेस स्वतन्त्रताको सुनिश्चितता गर्न माग गरेका छन् ।
महासङ्घका कार्यवाहक अध्यक्ष दीपक आचार्य, उपाध्यक्ष उमिद बागचन्द र महासचिव रामप्रसाद दाहालले आज बिहान गृहमन्त्रालय पुगेर मन्त्री लेखकलाई ज्ञापनपत्र बुझाएका हुन् ।