Jun 04 2026 | २०८३, जेठ २१ गते
तमु गुरूङ सञ्चारकर्मी संघ नेपालले ६ जना पत्रकारलाई पुरस्कृत गरेको छ। काठमाडौंको अनामनगरस्थित तमु बौद्ध सेवा समितिको सभाकक्षमा बुधबार भएको कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङको प्रमुख आतिथ्यमा नेपाली पत्रकारितामा सक्रिय पत्रकारहरूलाई सम्मान गरिएको हो।
संघका केन्द्रीय अध्यक्ष लाला गुरूङको अध्यक्षतामा भएको कार्यक्रममा तमु गुरूङ समुदायको वर्ष पुस्तक गुरूङन्युज डटकमको पनि लोकार्पण गरिएको छ। कार्यक्रममा पूर्वप्रधानसेनापति छत्रमानसिंह–कमला गुरूङ पत्रकारिता पुरस्कारबाट इच्छाकामना न्युज डटकम अनलाइन चितवनका सम्पादक देवराज गुरूङ र देश सञ्चारकी फोटो पत्रकार वर्षा शाह पुरस्कृत भएका छन्।
यस्तै सुश्री भद्रकुमारी घले पत्रकारिता प्रोत्साहन पुरस्कारबाट दि काठमाण्डु पोष्टका संवाददाता अपेक्षा गुरूङ, तमु ल्होसार मूल आयोजक पत्रकारिता पुरस्कारबाट राज्य टेलिभिजन रूपन्देहीका समाचार बाचक तथा कार्यक्रम प्रस्तोता निरू गुरूङ आदीकवि हर्कबहादुर गुरूङ स्मृति पत्रकारिता पुरस्कारबाट रेडियो नेपाल गण्डकी प्रदेश प्रादेशिक प्रशारण केन्द्र पोखराका तमु भाषाको समाचार बाचक, समाचार सम्पादक तथा कार्यक्रम उत्पादक शिला गुरूङ र लक्ष्मी गुरूङ पत्रकारिता पुरस्कारबाट धौलागिरी खबर म्याग्दीका फोटो पत्रकार गणेश गुरूङ ९सुरेन० पुरस्कृत भएका हुन्।
कार्यक्रममा बोल्दै सञ्चार मन्त्री गुरूङले अहिले प्रचलित सञ्चारमध्यमभन्दा सामाजिक सन्जालबाट आउने समाचार र हल्ला आदी प्रभावकारी भइरहेको हुँदा त्यसलाई नियमनको निम्ती छुट्टै कानुन बन्ने प्रक्रियामा सरकार अघि बढेको उनले बताए। कार्यक्रममा संघका अध्यक्ष लाला गुरूङ, तमु ह्युल छोंज धींका उपाध्यक्ष धनबहादुर गुरूङ, फोनिजका केन्द्रीय अध्यक्ष गजुरधन राईले धारणा राखेका थिए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij