Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

माथिल्लो तामाकोशी जलविद्युत केन्द्रबाट आंशिक रुपमा विद्युत् उत्पादन सुरु

माथिल्लो तामाकोशी जलविद्युत केन्द्रबाट आंशिक रुपमा विद्युत् उत्पादन सुरु

  • पौष: माथिल्लो तामाकोशी जलविद्युत केन्द्रबाट आंशिक रुपमा विद्युत् उत्पादन सुरु भएको छ । गत ११ र १२ असोजको अविरल वर्षाका कारण आएको पहिरोले क्षति पुर्याएका संरचनाहरूको आंशिक मर्मतसम्भारपछि मंगलबार साँझदेखि पुनः विद्युत् उत्पादन सुरु गरी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिएको हो ।

    images
    images
    images

    हाल नदीमा उपलब्ध पानीको बहावलाई पूर्ण रुपमा प्रयोग गरी १२० मेगावाट विद्युत् उत्पादन गरिएको छ । माथिल्लो तामाकोशी जलविद्युत गृहको क्षमता ४५६ मेगावाट विद्युत् उत्पादन छ ।अविरल वर्षाका कारण तामाकोशी नदीमा पानीको बहाव उच्च भएपछि असोज ११ गते बेलुकादेखि केन्द्रबाट विद्युत् उत्पादन बन्द गरिएको थियो ।असोज १२ गतेको पहिरोले बाँधस्थलभन्दा केही तल दायाँतर्फ रहेका नियन्त्रण कक्ष कन्ट्रोल रुम भवन, बालुवा थिग्ग्रयाउने पोखरी डिस्याण्डर र बाँधबाट डिस्याण्डरसम्म पानी पुर्‍याउने भूमिगत नहर कल्भर्टमा क्षति पुर्‍याएको थियो ।

    गोङ्गरको विद्युतृगृहबाट लामाबगरको बाँधस्थलतर्फ जाने झण्डै तीन सय मिटर पहुँचमार्ग खण्डमा ठूल्ठूला ढुङ्गा खसेर सडक अवरुद्ध भएको थियो । विस्फोटक पदार्थको प्रयोग गरी ढुङ्गालाई फुटाएर सडक खुलाइएको थियो । केन्द्रबाट उत्पादित विद्युत् प्रवाह गर्न गोङ्गर–खिम्ती दुई सय २० केभी प्रसारण लाइनको सिङ्गटीमा रहेको ४६ नम्बर टावरमा वर्षाका कारण क्षति पुगेको थियो ।दुईवटा डिस्याण्डरमध्ये बायाँतर्फको डिस्याण्डरको आंशिक मर्मतसम्भार सकिएर विद्युत् उत्पादनका लागि तय गरिएको समय तालिकाभन्दा एक दिनअघि उत्पादन शुरू गरिएको हो ।

    यो काम सम्पन्न भएपछि विद्युत् कम माग हुने समयमा पानी जम्मा गरी बढी माग हुने बिहान र बेलुकाको समय पिक आवरमा केन्द्रलाई ४ घण्टा पूर्ण क्षमतामा चलाउन सकिन्छ । केन्द्रलाई पुसभित्रमा पिक समयमा चलाउन सक्ने गरी मर्मतसम्भार भइरहेको छ ।

    जलविद्युत केन्द्रको प्रवर्द्धक कम्पनी अपर तामाकोशी हाइड्रोपावर लिमिटेड सञ्चालक समितिका अध्यक्षसमेत रहेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, कम्पनी सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत सिइओ सहितको टोलीले गएको मङ्सिर १८ मा स्थलगत अनुमगन गरी पुस १० भित्रमा मर्मतसम्भार सम्पन्न गरी विद्युत् उत्पादन शुरू गर्ने, तालिका तय गरेको थियो ।

    कार्यकारी निर्देशक घिसिङले कम्पनी सञ्चालक समिति, व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीको निरन्तर प्रयास र रातदिनको खटाईबाट माथिल्लो तामाकोसीको मर्मत सम्भार सम्पन्न भई तालिकाभन्दा एक दिन अघि नै विद्युत् उत्पादन शुरू गर्न सफल भएको बताए।देशकै ठूलो विद्युतगृह बन्द हुँदा विद्युत् आपूर्ति व्यवस्थापनमै असहजता उत्पन्न भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij