Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । प्रतिनिधिसभामा साउन ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर हुने भएको छ। सभामुख देवराज घिमिरे तथा राजनीतिक दलका मुख्यरप्रमुख सचेतकबीचको छलफलपछि साउन ७ प्रश्नोत्तर गर्नेगरी सहमति भएको हो।
नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले ७ गते प्रश्नोत्तर गर्नेगरी प्रतिनिधिसभाको दुई साताको कार्यतालिका तय भएको जानकारी दिए। सचिवालयले तयार पारेको मसौदा क्यालेण्डलाई शुक्रबारको कार्यव्यवस्था परामर्श समिति बैठकले अन्तिम रूप दिने छ ।
प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा प्रधानमन्त्रीको प्रत्यक्ष प्रश्नोत्तर व्यवस्था छ। नियमावलीले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको एक घण्टा प्रश्नोत्तर हुने व्यवस्था छ। प्रतिनिधि सभामा प्रश्नका लागि वर्णानुक्रम अनुसार सदस्यहरूको समूह विभाजन गरेको छ। समूहका सदस्यले मात्र प्रश्न गर्न पाउने छन्।
यस्ता प्रश्न सभामुखले तोकेको दिनभित्रै सचिवालयमा दर्ता गर्ने अभ्यास छ। एक दिनमा बढीमा १५ सदस्यले प्रश्न गर्न पाउने व्यवस्था नियमावलीमा उल्लेख छ। प्रधानमन्त्री ओलीले यो कार्यकालमा पहिलोपटक संसदमा सांसदको प्रश्नको जवाफ दिन लागेका हुन्। उनले साउन ६ गते संसदमा विश्वासको मत लिँदैछन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij