Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । संसदीय समितिले मेलम्ची खानेपानी आयोजनाबाट बाह्रै महिना काठमाडौं उपत्यकामा खानेपानी आपूर्ति र वितरण गर्न देखिएका समस्याको समाधानको लागि ठोस सुझावसहितको प्रस्ताव पेश गर्न सरकारलाई निर्देशन दिएको छ ।
बुधबार बसेको राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकले मेलम्ची खानेपानी आयोजनाबाट बाह्रै महिना काठमाडौं उपत्यकामा खानेपानी आपूर्ति र वितरण गर्न देखिएका मुलभुत समस्याको समाधानका लागि ठोस सुझावसहितको प्रस्ताव समिति समक्ष पेश गर्न खानेपानी मन्त्रालयलाई निर्देशन दिएको हो।
समितिले बैठकमा खानेपानी मन्त्रालय र वन तथा वातावरण मन्त्रालयका सचिव र सम्बन्धित निकायका पदाधिकारीहरूसँग काठमाडौं उपत्यकाभित्र खानेपानीको उत्पादन वितरण एवं सहज आपूर्तिको लागि देखिएका समस्या चुनौती लगायतका विषयमा छलफल भएको थियो ।
सोही छलफलपछि समितिले यस्तो निर्देशन दिएको हो । त्यस्तै समितिले शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्रको पानी निर्वाध आपूर्तिका लागि उक्त निकुञ्ज सम्बन्धी नियमावलीको अनुसूचीमा उल्लिखित रोयल्टी लगायतका विषयमा तत्काल संशोधन गर्न वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिएको छ।
त्यसैगरी खानेपानी आपूर्तिका लागि ईआईए सम्बन्धी प्रक्रिया टुङ्ग्याई सहजीकरण गरिदिन पनि वन तथा वातावरण मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij