Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । सुर्खेतको भेरीगंगा नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पौडेलसहित १३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आर्थिक वर्ष २०७६/०७७ मा भेरी नदी गोछेखोला, छिन्चुखोला र डुंगीखोलाका नदीजन्य पदार्थको उत्खनन, संकलन तथा बिक्रीका क्रममा बदनियतपूर्ण तबरले फर्महरुसँग मिलेमतो गरेको आरोपमा उनीहरुविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारको भनाइ छ ।
फर्महरुसँग मिलोमतो गरी धेरै रकमको ठेक्का साटफेर गर्दै अधिकतम कबोल मूल्य घटाउने र सम्झौता गर्न नआएको फर्मको धरौटी जफत नगरी अन्य ठेक्काको अवसर दिने, सम्झौता नगर्ने फर्मलाई कालोसूचीमा राख्नको लागि पत्राचार नगर्नेजस्ता कामबाट ३६ लाख ७८ हजार ५४३ रुपैयाँ राजस्व हानीनोक्सानी गराएकाले भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
अख्तियारले तत्कालिन प्रमुख प्रशासकीय अधिकृत पौडेलसँगै तत्कालिन लेखा अधिकृत मानबहादुर ठाडा, इन्जिनियर बिजयकुमार खत्री, सब इन्जिनियर मोतिलाल प्रसाद, योजना अधिकृत शिशिर कुमार खड्का, प्रशासकीय अधिकृत पिताम्बर पौडेल, प्राविधिक सहायक उज्जवल रावत, खरिदार सन्तोष तिवारी, लेखापाल जीवन सोमै र सह लेखापाल छविलाल सुनारविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
त्यस्तै न्यू हरि निर्माण सेवा सुर्खेतका प्रोपाइटर हरिबहादुर बुढा क्षेत्री, नवराज कन्सट्रक्सनका प्रोपाइटर नवराज ढकालविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारले जनाएको छ । अख्तियारले एञ्जल कन्सट्रक्सन, वीरेन्द्रनगर, सुर्खेतका प्रोपाइटर भीमबहादुर बुढा क्षेत्री विरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij