
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । गण्डकी प्रदेश सभा बैठक आह्वान गरिएको छ । जेठ ११ गते दिउँसो ३ बजे प्रदेश सभा बैठक आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सर्वोच्च अदालतबाट प्रदेश सरकारविरुद्ध विचाराधिन रहेको मुद्दा किनारा नलागेसम्म बैठक बहिस्कार गर्ने भएको छ ।
संसदीय दलको बैठकले प्रदेश सभा बैठक बहिस्कार गर्ने निर्णय गरेको कांग्रेस प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले जानकारी दिए । अदालतको अपहेलना गरी बोलाइएको बैठकमा आफूहरुको गम्भिर आपत्ति रहेको उनले बताए ।
‘…अदालतको आदेशको अवहेलना हुने गरि कामचलाउ प्रदेश सरकारले मिति २०८१ जेठ ११ गते दिउँसो ३ बजे प्रदेश सभा बैठक आह्वान गरि आगामी बजेटका सन्दर्भमा पूर्व छलफल गराउने कार्य प्रति नेपाली कांग्रेस संसदीय दलको गम्भिर असहमती रहेको छ।’ जारी विज्ञप्तीमा उल्लेख छ ।
गत वैशाख २३ गते मुख्यमन्त्री खजराज अधिकारीले विश्वासको मत लिने क्रममा सभामुखले समेत मत दिएपछि कांग्रेसले अदालतमा रिट दायर गरेको थियो ।
सो मुद्दामा वैशाख २८ गते अल्पकालीन अन्तरिम आदेश जारी गर्दै अधिकारी नेतृत्वको सरकारलाई दीर्घकालिन असर पर्ने गरी कुनै निर्णय नगर्नु, नगराउनु भन्ने अन्तरिम आदेश दिएको थियो ।
जेठ १४ गते सो मुद्दामा अन्तिम सुनुवाइ हुँदैछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij